४६ हजारभन्दा बढि विद्यार्थीको दृष्टि परीक्षण

जनता संवाददाता
२०८१ कार्तिक १६ गते, शुक्रबार

काठमाडौं । गुल्मीमा विद्यालय तहमा अध्ययनरत ४६ हजारभन्दा बढि विद्यार्थीको दृष्टि परीक्षण गरिएको छ । नेपाल नेत्र ज्योति संघ गुल्मीले यहाँका स्थानीय तहको सहकार्यमा ४६ हजार ५२० जना विद्यार्थीहरुको दृष्टि परीक्षण गरेको बताइएको छ ।

यस जिल्लाका ४५९ विद्यालयका विद्यार्थीहरुको दृष्टि परीक्षण गरिएको थियो । दृष्टि परीक्षण गरिएका ४६ हजार ५२० विद्यार्थीमध्ये ४३ हजार ८५३ को अवस्था सामान्य र दुई हजार ६६७ विद्यार्थीको दृष्टिसम्बन्धी समस्या रहेको पाइएको छ ।

गत वैशाख ६ गते जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीको अध्यक्षतामा स्थानीय तहका प्रमुखसहितको सरोकारवालासँगको बैठकले यस जिल्लामा विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुको मोबाइल एपको प्रयोग गरी दृष्टि परीक्षण अभियान घोषणा गरिएको नेपाल नेत्र ज्योति संघ गुल्मीका सचिव पदमप्रसाद पाण्डेले बताए ।

अभियानअन्तर्गत यहाँका स्थानीय तहमा रहेका विद्यालयका एक÷एक जना शिक्षकलाई दृष्टि परीक्षणसम्बन्धी तालिम प्रदान गरिएको थियो । विद्यार्थीको दृष्टि परीक्षणबाट ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रका विद्यार्थीमा सबैभन्दा बढि दृष्टि समस्या रहेको उनले बताए ।

दृष्टि परीक्षण अभियान नेपाल नेत्र ज्योति संघ, जिल्ला समन्वय समिति, यस जिल्लाका स्थानीय तहहरु, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाईको साझेदारी र सेभा नेपालको तालिम सञ्चालन सहयोगमा भएको थियो । वैशाख र जेठ महिनामा दृष्टि परीक्षण अभियानको सञ्चालन गरिएको बताइएको छ ।

नेपाल नेत्र ज्योति संघ गुल्मीमा गतवर्ष ३३ हजारभन्दा बढिको आँखा उपचार र ५१५ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । स्थानीय तहसँगको साझेदारीमा आँखा उपचार सेवालाई थप विस्तार गर्ने योजना रहेको नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति अखिलेश्वर प्रसाद पाण्डेयले बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक १६ गते, शुक्रबार


Scroll to Top

Janata Media