घरमा आगो लाग्दा टपरी उद्योग जलेर नष्ट

जनता संवाददाता
२०८१ मंसिर १२ गते, बुधबार

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिकास्थित स्थानीय राजमकुमार महतोको घरमा आगो लाग्दा एक टपरी उद्योग जलेर नष्ट भएको छ । मङ्गलबार राति करिब ७ः४५ बजे आगो लाग्दा गाउँपालिका वडा नं. ३ स्थित महतोको घरमा आगो लाग्दा कुशवाहा टपरी उद्योग जलेर नष्ट भएको हो ।

रामकुमारले आफ्नै घरमा टपरी उद्योग सञ्चालन गर्दै आएका थिए । घरमा आगो लाग्दा उद्योग पनि जलेर नष्ट भएको उहाँको छिमेकी फुलगेन मगहीले जानकारी दिए । छिमेकीका अनुसार सम्पूर्ण सामान जलेर नष्ट भएको छ । करिब ४० लाख बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

यस्तै, धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार पूजाको धुपबाट आगो लागेको अनुमान गरिएको र यथार्थ विवरण अझै आउन बाँकी छ ।

महेन्द्रनगरबाट खटिएका नेपाल आर्मी र विशेष सुरक्षा बल ढल्केवर टोली तथा स्थानीयको सहयोगमा राति ९ बजेसम्म आगो नियन्त्रणमा लिएको थियो भने घटनामा मानवीय क्षति नभएको जनाइएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १२ गते, बुधबार


Scroll to Top

Janata Media