यु–१९ महिला एसिया कप : बङ्गलादेश हारेसँगै फाइनल खेल्न चुक्यो नेपाल

जनता संवाददाता
२०८१ पुष ५ गते, शुक्रबार

काठमाडौँ । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ। यो हारसँगै नेपालको फाइनल खेल्ने सपना असफल भएको छ।

मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको हो। जितसँगै बङ्गलादेश प्रतियोगिताको फाइनलमा भारतसँगको भेट पक्का गरेको छ।

खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो। जसमा नेपालले ११ ओभरमा आठ विकेटको क्षतिमा ५४ रन जोडेको थियो। जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले नौ दशमलव पाँच ओभरमा एक विकेट गुमाएर ५६ रन बनाएको हो।

बङ्गालदेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडे भने ओपनर मोसमत इभाले १८ रन बनाए । साथै सुमैया अख्तरले १० रन जोडे । नेपालका लागि कुसुम गोदारले एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडे । कप्तान पूजा महतोले नौ र एलिशा यादवले आठ रन बनाए। बङ्गलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एकरएक विकेट लिए।

प्रकाशित मिति : २०८१ पुष ५ गते, शुक्रबार


Scroll to Top

Janata Media