१६ हजार किशोरीलाई पाठेघर विरुद्धको खोप लगाइने

जनता संवाददाता
२०८१ माघ १३ गते, आईतवार

काठमाडौं । दैलेखका करिब साढे १६ हजार किशोरीलाई महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’९एचपिभि० खोप दिइने भएको छ । दैलेख जिल्लका ११ वटा स्थानीय तहका विद्यालयमा अध्ययनरत १५ हजार ४४३ र विद्यालय बाहिर रहेका ८४५ गरेर १६ हजार २९७ जना किशोरीलाई खोप लगाउने स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीर प्रसाद रेग्मीले दैलेखका ११ स्थानीय तहलाई दुई भागमा विभाजन गरी माघको २२ गतेदेखि २५ गतेसम्म पहिलो चरण नारायण नगरपालिका, भैरवी गाउँपालिका, भगवतीमाई गाउँपालिका, नौमुले गाउँपालिका,डुगेश्वर गाउँपालिका गुराँस र महावु गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जानकारी दिए ।

उनले माघको २७ गते देखी दुल्लु नगरपालिका, आठबिस नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र ठाटिकाँध गाउँपालिकामा खोप अभियान सञ्चालन हुने बताए । उनका अनुसार दुई सय ४० खोप केन्द्रमा उक्त खोप लगाउने र माघको ३० गतेसम्म विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने जनाइएको छ ।

खोप लगाउनका लागि अहिले जिल्लाका सबै पालिका तहका स्वास्थ्यकर्मीलाई तालिम दिने र लगायतका कामहरू भइरहेको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

खोप अधिकृत रेग्मीका अनुसार आठबिस नगरपालिकामा कक्षा ६ देखी १० सम्मका एक हजार आठ सय ४० र विद्यालय बाहिर रहेका दुई सय १२ गरी दुई हजार ५२ जना, भगवतीमाई गाउँपालिका कक्षा ६ देखि १० सम्मका नौ सय ७१ र विद्यालय बाहिर रहेका ३८ गरी एक हजार नौ जना भैरवी गाउँपालिका कक्षा ६ देखि १० सम्मका एक हजार १०४ जना र विद्यालय बाहीर रहेका एक सय १५ जना गरी एक हजार २१९ जना, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका कक्षा ६ देखी १० सम्मका एक हजार ७१६ जना र र विद्यालय बाहिर रहेका एक सय २३ जना गरी एक हजार ८३९ जनाले खोप लगाउने भएका छन् ।

त्यस्तै दुल्लु नगरपालिकामा कक्षा ६ देखि १० सम्मका तीन हजार ५२ जना र विद्यालय बाहिर रहेका १०३ जना गरी तीन हजार १५५ जना, डुगेश्वर गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका आठ सय जना र विद्यालय बाहिर रहेका २५ जना थरी ८२५ जना, गुराँस गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका एक हजार २८० जना र विद्यालय बाहिर रहेका ४० किशोरी गरी एक हजार ३२० जना, महावु गाउँपालिकामा कक्षा ६ देखि १० सम्मका एक हजार १० जना, नारायण नगरपालिकामा कक्षा ६ देखि १० सम्मका एक हजार ४३३ जना र विद्यालय बाहिरका ६४ जना गरी एक हजार ४९७ जना, नौमुले गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका एक हजार १६१ जना र विद्यालय बाहिरका ६ जना गरी एक हजार १६७ जना र ठाटिकाँध गाउँपालिका कक्षा ६ देखि १० सम्मका एक हजार ७६ जना र विद्यालय बाहिरका १२८ जना गरी एक हजार २०४ जनालाई खोप लगाइँदै छ ।

जिल्ला स्तरीय खोप समन्वय समितिको बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी नवराज जैसीले खोपलाई प्रभावकारी रूपमा लगाउनु पर्ने बताए । उनले कुनै पनि किशोरीहरूलाई खोपबाट वञ्चित नगराई सबैलाई समेटेर खोप लगाउनु पर्ने र कुनै समस्या देखिएको खण्डमा तत्काल खबर गर्न आग्रह गरे ।

प्रकाशित मिति : २०८१ माघ १३ गते, आईतवार


Scroll to Top

Janata Media