हुम्ला कर्णालीमा पानीको बहाब घट्यो

जनता संवाददाता
२०८१ फाल्गुन १ गते, बिहीबार

हुम्ला । हुम्ला हुँदै बग्ने कर्णाली नदीमा पानीको बहाब घट्दै गएको छ । यस वर्ष हिउँदमा हिउँ कम परेका कारण कर्णाली नदीमा पानी घट्दै गएको हो ।

सिमकोट गाउँपालिकाका सबइन्जिनियर दानबहादुर रावलले विगत वर्षभन्दा यस वर्ष कर्णाली नदीमा पानीको मात्रा घटेको बताए। उनले माथिल्लो हुम्ला विशेष गरी सिमकोट, नाम्खा गाउँपालिकाको भूभागमा बग्ने नदीमा पानीको मात्रा निकै घटेको जानकारी दिए । नदीमा पानी सुकेका कारण आकार सानो देखिन थालेको र नदीले चौडा रूप लिएको स्थानमा पनि मानिस सिधै तर्न सक्ने अवस्था रहेको छ ।

नेपालतर्फको भूभागमा बग्ने कर्णाली नदीमा पानी भए पनि चीनमा बग्ने नदी सानो खोलामा परिणत भएको रावलले बताए । मौसममा आएको परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा हिमालमा हिउँ नै पर्न छाडेपछि नदीमा पानी घट्नु स्वाभाविक भएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए।

सेताम्मे देखिनुपर्ने हिमाल कालापत्थर देखिन थालेपछि पानीको स्रोत नभएकै कारण नदीमा पानी घट्नुको मुख्य कारण रहेको उनले जनाए । यतिबेला हिमाल मात्र नभएर सदरमुकाम सिमकोटसमेत हिउँले सेताम्मे देखिनुपर्नेमा हिउँको सट्टा पानी पर्न थालेका कारण चिन्ताको विषय थपिएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते, बिहीबार


Scroll to Top

Janata Media