रेबिज लागेका मृत जनावर किनबेच गर्ने दुईजना पक्राउ

जनता संवाददाता
२०८१ फाल्गुन १५ गते, बिहीबार

काठमाडौं । रेविज लागेका मृत जनावरहरु किनबेच गर्ने दुईजनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।

वालिङ नगरपालिका–५ का ५५ वर्षीय राजेन्द्रबहादुर के.सी.ले आफ्नै घरमा पालेका घर पालुवा जनावरहरुमा सङ्क्रामक रोग रेविजको लक्षण देखिएपछि बेचेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, उक्त जनावरहरु खरिद गर्ने वालिङ नगरपालिका–८ का ५० वर्षीय शंसुदिन मियाँलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकरी दिए ।

मियाँले रेविज लागेका बस्तुहरु खरिद गरी मासुका लागि बजारतर्फ बेच्न लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

केसीले पालेका जनावरहरु एक भैँसी, भैँसीको पाडा एक, बाख्रा एक र बाख्राको पाठीमा रेविजको लक्षण देखिएको भन्दै बालिङ नगरपालिकाका पशु प्राविधिकहरुले केसीलगायतका छिमेकीलाई सचेत रहन आग्रह गरेका थिए । प्रहरीका अनुसार केसीले अब जनावरहरु मर्न लागे भनेर मियाँलाई बोलाएर बिक्री गरेको स्थानीयको आरोप छ ।

गएको सोमबार मियाँले जनावरहरु खरिद गरी ग २ च २७६० नम्बरको सवारी साधनमा राखी वालिङ बजार हुँदै भीरकोट नगरपालिका बयरघारीतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको सूचना अधिकारी पौडेलले बताए । विशेष सूचनाका आधारमा जनावरसहित मियाँलाई पक्राउ गरिएको उनको भनाइ छ।

वालिङ नगरपालिका–१ स्थित सिद्धार्थ राजमार्गमा प्रहरीले जनावरहरु बोकेको सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ । खानतलासी गर्ने क्रममा सवारी साधन भित्र मृतक भैँसी एक,भैँसीको पाडो एक, बाख्रा एक र बाख्राको पाठी भेटिएको प्रहरीको भनाई छ ।

मृतक भैँसीको वालिङ नगरपालिकाबाट पशु प्राविधिक टोलीमार्फत किटद्वार परीक्षण गर्दा सङ्क्रामक रोग रेविजको लक्षण देखिएको पुष्टि हुन पुगेको सूचना अधिकारी पौडेलले बताए ।

पक्राउ परेको दुबैजनालाई स्याङ्जा जिल्ला अदालत स्याङ्जाबाट सङ्क्रामक रोग फैलाउन नहुने कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक भैँसीलाई व्यवस्थितरुपमा पुरिएको र अन्य जनावरलाई केसीको घरमा नै पठाइएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते, बिहीबार


Scroll to Top

Janata Media