यस वर्षको ‘प्री मनसुन’ सक्रिय

जनता संवाददाता
२०८१ चैत्र ३० गते, शनिबार

काठमाडौँ । यस वर्षको ‘प्री मनसुन’ सक्रिय भएको छ । दुई दिनअघिदेखि देशका विभिन्न भूभागमा वर्षा गराउने गरी जलवाष्पयुक्त बादल नेपाल भित्रिएसँगै नेपालमा प्री मनसुन सक्रिय भएको हो ।

अबको साताभरि नै कहिले पूर्वी र कहिले पश्चिमी भूगोलमा हल्का वर्षासँगै बदली कायम राख्ने गरी प्री मनसुन सक्रिय भएको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताए ।

शनिबारसम्म एउटा प्रणालीको असर देशका विभिन्न भूभागमा रहने छ भने त्यसपछि फेरि अर्को वर्षा गराउने प्रणाली सक्रिय हुने देखिएको उनले जानकारी दिए ।

उनले भने, “बङ्गालको खाडी र अरेबियन सागर दुवैतिरबाट न्यूनचापीय प्रणाली नेपालतर आइरहेकाले अबका दिनमा बिहान हल्का घाम लागे पनि दिउँसोदेखि बदली हुँदै साँझपख पहाडी भेगमा गड्याङगुडुङसहित हल्कादेखि मध्यम वर्षा भइरहने छ ।” यतिबेला सुदूपश्चिम र कर्णाली भूभागमा बढी सव्रिmय रहेको प्री मनसुनी वर्षा त्यसपछि कोशी र मधेश प्रदेशका जिल्लामा बढी सक्रिय रहने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिए ।

प्री मनसुनका समयमा हल्का बदलीले पनि गड्याङगुडुङसहित चट्याङ पार्ने भएकाले सजग र सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । आगामी मनसुनका लागि वातावरण बनाउन यस प्री मनसुनले भूमिका खेल्ने गर्छ ।

हिउँदयामदेखि नै विगत लामो समयदेखि वर्षा नहुँदा खडेरीसँगै डढेलो देशव्यापी रूपमा बढेको थियो । जसले देशभर वायुप्रदूषण उच्च बनाएको थियो । वर्षाले ठुलो राहत मिलेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते, शनिबार


Scroll to Top

Janata Media