स्टन्टले देश बन्दैन, देश बनाउन काम गर्नुपर्छः उपप्रमुख डङ्गोल

जनता संवाददाता
२०८२ बैशाख ११ गते, बिहीबार

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बिहीबार लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्दै विचार राखेका थिए ।

काठमाडौँ महानगरपािलकाकी उपप्रमुख सुनिता डङ्गोलले राम्रा कामका प्रचार गर्न एमालेले युवा शक्तिको सदुपयोग गर्ने बताईन् । उनले स्टन्ट गरेर देश नबन्ने र देश बन्नका लागि काम गर्नुपर्नेमा जोड दिईन् । “स्टन्ट गरेर देश बन्दैन देश बनाउने हो भने काम गर्नुपर्छ,” उनले भनिन् ।

कार्यक्रममा पृथ्वी नारायण क्याम्पस पोखराका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति विष्णु पोखरेलले समावेशिता र समानताको प्रत्याभूति लोकतन्त्रमा मात्र सम्भव हुने बताए । उनले नेपाललाई मासु, तरकारी, फूललगायतका क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र युवाले पनि नेपालको बाँझो जमिन जोत्न र खन्न आँट गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी शिवराज नगरपालिका कपिलवस्तुकी उपप्रमुख शिवकुमारी थारुले गणतन्त्र रक्षाका लागि सम्पूर्ण युवा एकजुट भएर अघि बढ्नुपर्ने बताए । “विकास देख्न नसक्ने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले गणतन्त्रमाथि प्रहार गरिरहेका छन्”, उनले भने “युवा शक्तिले त्यस्ता शक्तिलाई समाप्त पार्दै अघि बढ्नु पर्छ ।” रासस

प्रकाशित मिति : २०८२ बैशाख ११ गते, बिहीबार


Scroll to Top

Janata Media