काठमाडौँ । आज मे १ अर्थात् मे दिवस । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, यसपालि पनि नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष यो दिवस मनाए पनि श्रमिकका पक्षमा नेपालमा खासै काम हुन सकेको छैन ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको माग गर्दै सुरु गरिएको मजदुर आन्दोलनको सम्झनास्वरूप विश्वभर यो दिवस मनाउने गरिन्छ । हरेक वर्ष मे महिनाको पहिलो दिन मनाउने भएकाले यसलाई ‘मे दिवस’ भनिएको हो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गर्यो र त्यसयता १८९० बाट विश्वभर श्रमिक दिवस मनाउन सुरु गरिएको हो । नेपालमा २००३ सालमा विराटनगर जुट मिलबाट श्रमिकको आन्दोलन सुरु भएको हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि ‘मे दिवस’ विशेष पर्वका रूपमा मनाउन थालियो । सरकारले बिदा पनि दिन थाल्यो ।
श्रम ऐन, २०७४ तथा नियमावली २०७५ लाई कार्यान्वयन गर्दै २०८० साउन १ गतेबाट श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय रुपियाँ भएको छ । हरेक वर्ष दुई वर्षमा पुनरवलोकन गर्नुपर्ने पारिश्रमिक यस पटक साउन १ गतेदेखि नयाँ लागु गर्नुपर्ने छ । यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहसचिवको संयोजकत्वमा गठिन समितिले काम गरिरहेको छ ।
रोजगारदाता अहिलेको आर्थिक मन्दीमा पारिश्रमिक नबढाउने पक्षमा छन् भने ट्रेड युनियनले अहिलेको महँगीमा सामान्य जिउन पुग्ने गरी पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै आएका छन् । श्रममन्त्री शरतसिंह भण्डारीले उद्योग व्यवसायलाई बन्द गर्ने अवस्था नआउने र श्रमिक पनि नमर्ने गरी दुवैको जित हुने गरी पारिश्रमिक पुनरवलोकन गर्ने प्रयास भइरहेको जानकारी दिए ।







