काठमाडौँ । हुम्लाको अदानचुली गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । चार महिनादेखि अधिकृत बिहिन भएको गाउँपालिकामा आज प्रमुख प्रशासकीय अधिकृतको रुपमा प्रदीप भण्डारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएपछि कार्यालयमा हाजिर भएका हुन् ।
कार्यालयमा हाजिर भएसँगै गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह सहितको टोलीले स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिट ब्युरो सदस्य हस्त बहादुर शाही, वडाध्यक्षहरु, कार्यपालिका सदस्यलगायत अन्य जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका छन् ।
गाउँपालिका अध्यक्ष सिंहले आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहेकाले कामको गति बढाउन र पारदर्शी बनाउन निर्देशन दिएका छन् । उनले भने, ‘आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी छ । कुनै सम्झौताका भएका छैनन् । सम्झौता गरेर काम सम्पन्न गर्नुपर्ने छ । जनप्रतिनिधि, कर्मचारीले तलब पाएका छैनन् । यि सबै काम समयमै सकाउनु पर्नेछ । यि कामहरुमा ध्यान दिनुहोला । नियम विपरित काम नगर्नु ।’

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते अदानचुली गाउँपालिकालगायत जिल्लाका सबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो । अन्य गाउँपालिकामा मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतले कामकाज गरेपनि अदानचुलीमा खटाएका परराष्ट्र मन्त्रालयमा कामकाज गरिरहेका ताम्रराज काफ्ले गाउँपालिकामा जान नमानेपछि समस्या भएको जनाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको भुक्तानी, कर्मचारीको पारिश्रमिक, जनप्रतिनिधिको सेवा सुविधालगायत आवश्यकीय रकम भुक्तानीमा समस्या भएको थियो । नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएसँगै सम्पूर्ण काम हुने अपेक्षा गरिएको छ ।
यो पनि पढ्नुहोस्ः
तीन महिनादेखि अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन







