गणतन्त्र धरापमा पार्ने षड्यन्त्र हुँदैछ : अध्यक्ष प्रचण्ड

जनता संवाददाता
२०८२ जेष्ठ ७ गते, बुधबार

रुकुमपश्चिम । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा भएको विशाल जनसभालाई सम्बोधन गर्दै उनले जनताको संघर्ष, त्याग, रगत र पसिनाको उपलब्धिको रुपमा रहेको गणतन्त्र रक्षाका लागि नयाँ क्रान्तिको अपिल गर्न रुकुम आएको उल्लेख गरे ।

माओवादीले सञ्चालन गरेको जनयुद्धताका पनि पार्टी भित्र अप्ठ्यारो पर्दा, विचारमा तीव्र मतभेद हुँदा रुकुम, रोल्पा, जाजरकोट, सल्यानका जनतासँग आउने गरेको स्मरण गर्दै उनले रुकुम क्रान्तिको केन्द्र र किल्ला भएकोले बेला बेला आउने गरेको बताए ।

संविधानको रक्षाको लागि माओवादी केन्द्रकै जिम्मेवारी रहेको र त्यो हिम्मत पनि माओवादी केन्द्रसँगै रहेको उनको भनाइ छ। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेर समाजवाद ल्याउन माओवादीले जनजागरण अभियान चलाएको जनाए।

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते, बुधबार


Scroll to Top

Janata Media