२६ वर्षे प्रतीक्षाको अन्त्य: राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला

जनता संवाददाता
२०८२ असार २२ गते, आईतवार

हुम्ला। निर्माण सुरु भएको २६ वर्ष र सरकारी नीति तथा कार्यक्रममा लेखिन थालेको १२ वर्षपछि विकट हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अन्ततः राष्ट्रिय सडक सञ्जालसँग औपचारिक रूपमा जोडिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार खार्पुनाथ गाउँपालिका-५ स्थित चुवाखोलामा नेपाली सेनाद्वारा निर्मित बेलीब्रिजको उद्घाटन गरेसँगै दशकौँ लामो हुम्लावासीको प्रतीक्षा समाप्त भएको हो।

पुलको उद्घाटनले हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग मात्र जोडेको छैन, यसले उत्तरमा चीन र दक्षिणमा भारतलाई जोड्ने ‘कर्णाली समृद्धिको मार्ग’ को ढोका खोलेको छ।

पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली करिडोरलाई कर्णाली र हुम्लावासीको मात्र नभई चीन र भारतसँगको त्रिदेशीय व्यापारिक मार्गका रूपमा विकास गरिने घोषणा गरे।

‘हुम्ला अब उत्तर–दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर पश्चिम नेपालको रणनीतिक महत्त्व बोकेको जिल्लाका रूपमा समेत स्थापित भएको छ,’ उनले भने।

उनले यो सफलता हासिल गरेकोमा नेपाली सेनालाई हार्दिक आभार व्यक्त गर्दै करिडोरलाई तत्काल दुई लेनमा स्तरोन्नति गरी कालोपत्रे गरिने र चीनसँगको व्यापार सहजीकरणका लागि हिल्सा नाकामा ‘एलसी’ सहितको ठूलो क्वारेन्टाइन स्थापना गरिने प्रतिबद्धता व्यक्त गरे।

पुल उद्घाटनका लागि हुम्ला पुगेका प्रधानमन्त्री ओली र उनको टोलीलाई स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका थिए।

खार्पुनाथ गाउँपालिका-५ का वडाध्यक्ष भरतजंग शाहीले बेलीब्रिज सञ्चालनमा आएसँगै कर्णालीको समृद्धिको यात्रा सुरु भएको बताए।

यद्यपि, हुम्लाबाटै निर्वाचित सांसद तथा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले यो ‘रेडिमेड’ बेलीब्रिज अस्थायी समाधान मात्र भएको बताए।

उनले भने, ‘सरकारबाट पक्की सडक पुलको अविलम्ब निर्माणमा साँचो र पर्याप्त बजेट व्यवस्थापन गर्नु नै यसको स्थायी समाधान र हामी सबैको कार्यभार हो।’

उनले पुल सञ्चालनले हुम्ली जनताको दैनिक जीवनमा सहजता ल्याउने र वैदेशिक व्यापारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

आठ वर्षअघि २०७४ चैतमा तत्कालीन प्रधानमन्त्री ओलीलाई रारामा बोलाएर कर्णाली प्रदेश सरकारले यस करिडोरलाई ‘प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्ग’ नामकरण गरेको थियो।

यसको उद्देश्य संघीय सरकारको ध्यानाकर्षण गराई यसलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गराउनु थियो। चीन सरकारको स्वामित्वमा रहेको एक कम्पनीले तीन वर्षमै निर्माण सम्पन्न गर्ने गरी डीपीआर तयार पारे पनि संघीय सरकारले लामो समयसम्म प्राथमिकतामा राखेको थिएन।

गत पुस १६ गते सरकारले चुवाखोलामा पुल निर्माणको जिम्मा दिएपछि नेपाली सेनाले द्रुत गतिमा काम अघि बढाएको थियो। सेनाले दिनरात काम गरी १७० फिट लामो बेलीब्रिज समयअगावै निर्माण सम्पन्न गरेको हो। ‘अब हुम्ला सदरमुकाम सिमकोटमा बाह्रै महिना यातायातका साधन चल्नेछन्,’ सेनानी रनजीत बुढाथोकीले भने।

प्रधानमन्त्री ओली आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै हुम्ला पुगेका थिए। खराब मौसमका कारण कार्यक्रम करिब ४ घण्टा ढिलो भएको थियो।

उनीसँगै रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र प्रधानसेनापति अशोकराज सिग्देल लगायतको उच्चस्तरीय टोली हुम्ला पुगेको थियो।

प्रकाशित मिति : २०८२ असार २२ गते, आईतवार


Scroll to Top

Janata Media