प्रदर्शनकारीले आगो लगाएको घरमा दुई महिलाको शव

जनता संवाददाता
२०८२ भाद्र २५ गते, बुधबार

काठमाडौँ । आन्दोलनको क्रममा मङ्गलबार जेनजीहरुले आगो लगाएका दुई भवनमा बुधबार जलेको अवस्थामा दुई महिलाका शव फेला परेको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र उनका भाइ ध्रुव थापाको भवनमा दुई महिलाको शव भेटिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दुई शव पोस्टमार्टमका लागि पठाइए पनि प्रक्रियाअघि बढाउन समस्या भएको छ । अस्पतालका सूचना अधिकारी सुशील अर्यालले शवको मुचुल्का, पोस्टमार्टम गर्न सिफारिस पत्र जस्ता कागजात नहुँदा प्रक्रियाअघि नबढेको जानकारी दिए ।

पछिल्लो आन्दोलनका क्रममा घाइतेहरुको यकिन तथ्याङ्क छैन । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसमेत तोडफोड र आगजनी भएपछि क्षतिको तथ्याङ्क सङ्कलन हुन सकेको छैन । क्षेत्रीय अस्पतालमा २२ घाइते उपचारका लागि लगिएकोमा १६ जना डिस्चार्ज भइसकेका छन् ।

अर्यालले भने, “यहाँ २२ जना घाइते ल्याइएकोमा १६ जना घर गइसक्नुभएको छ । बाँकी चार जनाको आइसियुमा र दुई जनाको अर्थोपेडिक वार्डमा उपचार भइरहेको छ ।” नेपाली सेना सडकमा आएपछि बुधबार पोखराको अवस्था सामान्य बन्दैगएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २५ गते, बुधबार


Scroll to Top

Janata Media