काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् । निडर र कुशल न्यायमूर्तिका रूपमा चर्चित नवनियुक्त प्रधानमन्त्री कार्कीले शुक्रबार शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गरे ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम भदौ २७ गते शक्रबार राति ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधि सभा विघटन गरेका छन् । राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजङ्ग थापामगरका अनुसार राष्ट्रपति पौडेलले २०८२ फागुन २१ गते बिहीबार प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकेका छन् ।
जेनजी अभियानको भदौ २३ र २४ गतेको आन्दोलनले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गठबन्धनलाई सत्ताच्युत गरेपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई प्राप्त गरेको हो । राष्ट्रपति कार्यालयमा शुक्रबार राष्ट्रपति पौडेल, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल, जेनजी अभियानका प्रतिनिधिलगायत सरोकारवालासँगको संवादपछि देशले नयाँ प्रधानमन्त्री पाएको हो ।
भदौ २३ र २४ गतेको आन्दोलनले देश तहसनहस भएलगत्तै राष्ट्रपति पौडेल र नेपाली सेनाको समन्वयमा निरन्तर संवाद भएको थियो । भदौ २५ र २६ गते राष्ट्रपति पौडेल, प्रधान सेनापति सिग्देल र जेनजीका प्रतिनिधिबिच संवाद भएको थियो । राष्ट्रपति पौडेलले पनि बिहीबार संविधानविद्सँग छुट्टै संवाद गर्नुभएको थियो । निरन्तर संवाद हुँदा पनि जेनजी अभियन्ता अलग अलग समूहमा विभाजित भएर आन्दोलनको स्वामित्व लिन खोजेपछि देशमा प्रधानमन्त्री नियुक्त गर्न ढिलाइ भएको थियो तर जेनजी आन्दोलनको अगुवाइ गर्ने समूहसँग प्रधान सेनापति सिग्देलले बुधबार, बिहीबार र शुक्रबार गम्भीर विमर्श गरेपछि जेनजीद्वारा प्रस्ताव पूर्वप्रधान न्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको छ ।







