आमा र शिशुलाई पोषण सामग्री सहयोग

जनता संवाददाता
२०८२ आश्विन १२ गते, आईतवार

काठमाडौं । सुनौलौ हजार दिनका आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र सरसफाईका सामानहरु प्रदान गरिएको छ । सो उमेर समूहका आमा र शिशुको कुपोषणबाट जोगाउन र सरसफाई गर्न सहजताका लागि गाउँपालिका स्वास्थ्य शाखाले सामग्री प्रदान गरेको हो ।

गाउँपालिकाका सुनौलो हजार दिनमा आमा र शिशुलाई पोषण र सरसफाईका सामग्री सहयोग गरिएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हरिभक्त शाहीले बताए ।

सो उमेर समूहका आमा र शिशुको पोषणमा सुधार ल्याउन र सरसफाई गर्न सहयोग गर्न गाउँपालिकाले बार्षिक कार्यक्रम तय गरेर सहयोगको कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँँपालिकाभर २११ जना सुनौलो हजार दिनको आमा र त्यति नै सङ्ख्यामा शिशु भएको र उनिहरु सबैलाई ती सामग्री बितरण गरिएको उनले बताए ।

स्वास्थ्य शाखाले उपलब्ध गराएको बिबरणअनुसार सहयोग गरिएका पोषणका सामानमा घ्यू, मार्सी चामल, अण्डा, हर्लिक्स, चेवनप्रास रहेका छन् भने सरसफाईका सामानमा बाटा, बाल्टी, साबुन छन् ।

त्यसैगरी ग्रीनहाउस निर्माणका लागि पाल र गार्डेन पाइप पनि प्रदान गरिएको छ । खार्पुनाथ गाउँपालिका –२ को थाली स्वास्थ्य चौकी इन्चार्ज बीरसिंह रावलले आफ्नो वडाभित्रका ३५ जना सुनौलो हजार दिनका आमा र शिशुलाई पोषण तथा सरसफाईको सामान प्रदान गरिएको बताए । यसले उक्त उमेर समूहका महिला पनि सन्तुष्ट देखिएको उनले बताए ।

प्रकाशित मिति : २०८२ आश्विन १२ गते, आईतवार


Scroll to Top

Janata Media