घरको ताल्चा फुटाएर ६ लाख बढीको सामान चोरी

जनता संवाददाता
२०८२ आश्विन १५ गते, बुधबार

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ५ स्थित मलेकपुर टोलमा ढोकाको ताल्चा फुटाएर चोरी भएको छ । स्थानीय सन्तलाल साहको घरमा कोही नभएको बेलामा सोमबार राति चोरले ताल्चा फुटाएर घरबाट करिब ६ लाख तीन हजार रुपियाँ बराबरको सामान चोरी गरेको पीडितको भनाइ छ ।

चोरीबारे मङ्गलबार बिहान करिब ७ः३० बजे प्रहरीलाई जानकारी गराएपछि घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गर्दा साहको घरभन्दा करिब १ किलोमिटर पूर्व धानखेतमा चोरी भएका सामानसहितको ब्याग फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

चोरीमा परेका सामानहरुमा तीन लाख नगद, करिब एक लाख १० हजार रुपियाँ मूल्य बराबरको आठ आना सुन, एक लाख बराबरको सातसय ग्राम चाँदी, ८० हजार रुपियाँ मूल्य बराबरको आईप्याड, पाँच हजार बराबरको ब्लाङ्केट, आठ हजार बराबरका साडी, थाल, काँच गिलास लगायतका अन्य समानहरु चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर पुरीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ आश्विन १५ गते, बुधबार


Scroll to Top

Janata Media