सुदनले भने- प्रचण्डले नेकपा नामको वृद्धाश्रम बनाए, अब सहकार्य होइन श्राद्ध मात्रै हुन्छ

जनता संवाददाता
२०८२ कार्तिक २८ गते, शुक्रबार

काठमाडौँ । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेता सुदन किराँतीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीलाई ७० वर्ष नाघेका नेताहरूको ‘वृद्धाश्रम’ बनाएको आरोप लगाएका छन्।

उनले अब दाहाल नेतृत्वको शक्तिसँग कुनै पनि हालतमा राजनीतिक सहकार्य असम्भव रहेको र उनीहरूलाई केवल ‘पितृ’ का रूपमा श्राद्धमा मात्र सम्झन सकिने भन्दै व्यङ्ग्य गरे।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता किराँतीले पुराना नेताहरूको नेतृत्वले देशमा रूपान्तरण र पुस्तान्तरणको आवश्यकतालाई बेवास्ता गरेको आरोप लगाए।

उनले भने, ‘नेपालको कानुनमा ७० वर्षदेखि माथिकालाई वृद्धभत्ताको व्यवस्था छ। ७० वर्ष नाघेका वृद्धाहरूको त्यो एउटा वृद्धाश्रम, एउटा गल्फ खेल्ने क्लब जस्तो भएको छ। आजको आवश्यकता रूपान्तरण र पुस्तान्तरणको हो, तर त्यो मुद्दालाई उहाँहरूले नबोक्नुभएको हुनाले अब सहकार्य हुँदैन।’

दाहाल लगायतका पुराना नेताहरूप्रति आफ्नो सम्मान रहे पनि अब उनीहरूसँग सहकार्यको अध्याय समाप्त भएको उनले स्पष्ट पारे।

‘पितृहरूलाई हाम्रो सधैं सम्मान रहन्छ, तर सहकार्य जीवित मान्छेसँग हुन्छ,’ उनले भने, ‘उहाँहरूलाई ६(६ महिनामा, एक(एक वर्षमा श्राद्धसम्म गर्न सकिन्छ, पितृमा बोलाउन सकिन्छ तर अब सहकार्य हुँदैन।’

आफ्नो अभियानले देशको राष्ट्रिय स्वाधीनता, अखण्डताको रक्षा गर्न र भ्रष्टाचार अन्त्य गर्न चाहने सबै युवा शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए।

पार्टी एकताका नाममा दाहालले बहुमतको ‘डण्डा’ चलाएर पार्टी कब्जा गर्न खोजेकाले आफूहरूले छुट्टै अभियान थाल्न बाध्य भएको उनको भनाइ थियो।

उनले पुराना नेताहरूले विभिन्न वाद (मार्क्सवाद, लेनिनवाद, माओवाद) र सहिदको नाममा आफ्नो राजनीतिक ‘रोटी सेकेको’ तर देश र जनताका लागि काम नगरेको आरोप लगाए।

‘उहाँहरूले समाजवाद, मार्क्सवाद, लेनिनवाद, माओवाद र सहिदको नाममा धेरै रोटी सेक्नुभयो,’ उनले भने, ‘हाम्रो अभियान रोटी सेक्ने माध्यम होइन।’

उनले आफूहरूले पार्टी विभाजन नगरेको, बरु बहुमतको बलमा गरिएको एकताको गलत अभ्यासपछि नयाँ अभियान थाल्न बाध्य भएको जिकिर गरे।

प्रकाशित मिति : २०८२ कार्तिक २८ गते, शुक्रबार


Scroll to Top

Janata Media