काठमाडौं। पाँचथर जिल्लाका बालबालिकालाई फागुन १६ देखि २३ गतेसम्म दादुरा रुबेलाविरुद्व खोप दिइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका अनुसार अभियान दुई चरणमा सञ्चालन गरिने भएको हो ।
अभियानमा ९ महिनादेखि पाँच वर्ष उमेर समूहका १२ हजार ६ सय ८७ बाल बालिकालाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेजबहादुर तुम्बापोले जानकारी दिए । उनका अनुसार अभियान सञ्चालनको तयारी पूरा भएको छ ।
खोप अभियान जिल्लाका आठ वटै स्थानीय तहमा सञ्चालन हुनेछ । सरकारले सन् २०२६ सालभित्र देशबाट दादुरा र रुबेला नियन्त्रण गर्ने लक्ष राखेर खोप देशभर अभियान चलाइरहेको छ ।
अभियानबारे जानकारी आदानप्रदान गर्न स्वास्थ्य कार्यालय र स्थानीय तहले पाँचथरमा पत्रकार, नागरिक समाज, जनप्रतिनिधि र सरोकारवालासँग छलफल र अन्तरक्रिया सञ्चालन गरिरहेको छ । अभियानमा सबै लक्षित समूहका बालबालिलाई नजिकको केन्द्रसम्म पुर्याएर खोप दिलाउन सहयोग गर्न स्वास्थ कार्यालयले आम नागरिकसँग आह्वान गरेको छ ।







