पेट्रोलियम पदार्थको मूल्य तीन रुपैयाँले बढ्यो

जनता संवाददाता
२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मङ्गलबार बिहानदेखि कायम हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो।

नेपाल आयल निगम लिमिटेडले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो। भारतबाट पेट्रोल मूल्य प्रतिलिटर २.९६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको निगमले जनाएको छ।

मूल्य वृद्धिसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७२ रुपैयाँ ५० पैसाबाट १७५ रुपैयाँ ५० पैसा तोकिएको छ। दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७४ रुपैयाँ ५० पैसाबाट १७७ रुपैयाँ कायम भएको छ।

यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७५ रुपैयाँबाट १७८ रुपैयाँ पुगेको छ। यसैगरी डिजेल र मट्टितेल एक लिटरको मूल्य क्रमशः १५८, १६० र १६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

प्रकाशित मिति : २०८१ बैशाख ४ गते, मंगलवार


Scroll to Top

Janata Media