फरक तरिकाले मनाइयो तिज

जनता संवाददाता
२०८१ भाद्र २० गते, बिहीबार

काठमाडौं । तिजको अवसर पारेर नारी उत्थान तथा सचेतना केन्द्र मुगुले बुधबार नगरका विद्यालयमा तिज कार्यक्रम आयोजना गरेको छ । संस्थाले विद्यार्थी र अभिभावकसँग आध्यात्मिक ज्ञानमा विकास हुने र परम्पराको प्रवर्धन गर्ने उद्देश्यले अभिभावकसँग फरक तरिकाले तिज मनाएको हो ।

नेपाली हिन्दु महिलाको महान् पर्व हरितालिका तिजको अवसरमा हरेक वर्षजस्तै यो वर्ष पनि तिज कार्यक्रम गरेर आध्यात्मिक ज्ञानमा परोपकारीका लागि संस्थाले कार्यक्रम गरेको बताइएको छ ।

आफ्नो संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने हेतुले हरेक वर्ष यसरी नै हरितालिका तिजमा फरक तरिकाले ज्ञान दिने उद्देश्यले जिल्लाको सामाजिक कार्यमा निरन्तर समाज सेवामा जुट्दै आएको नारी उत्थान तथा सचेतना केन्द्र मुगुकी अध्यक्ष र विश्व हिन्दु महासङ्घ केन्द्रीय सदस्य चेतना मल्ल शाहीले जानकारी दिए ।

उनका अनुसार हरितालिका तिज हिन्दु परम्पराअनुसार सकारात्मक रूपमा ज्ञान दिने उद्देश्यले नगरभित्रका विद्यालयका विद्यार्थीका अभिभावकसँग धेरैभन्दा धेरै महिलालाई कार्यक्रममा सहभागी गराउने उद्देश्यका साथ आयोजना गरिएको हो ।

छायाँनाथ रारा नगरपालिका–३ को महादेव आधारभूत विद्यालयमा बुधबार बिहान ११ बजेदेखि सुरु गरिएको कार्यक्रम बेलुका ७ बजे सम्म चलेको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र २० गते, बिहीबार


Scroll to Top

Janata Media