स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य गर्न माग

जनता संवाददाता
२०८१ पुष १२ गते, शुक्रबार

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तत्कालै अन्त्य गर्न नेपाल मेडिकल व्यवसायी सङ्घले सरकार समक्ष माग राखेको छ ।

सङ्घले पत्रकार सम्मेलन गर्दै श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य हुनुपर्ने माग गरेको हो ।

सङ्घका महासचिव कुष्णप्रसाद बजगाईंले केही व्यावसायीले मलेसियामा सिन्डिकेट लादेको बताउँदै अन्त्य गर्नुपर्ने माग गरे ।

हाल श्रम मन्त्रालयअन्तर्गत २१२ वटा स्वास्थ्य संस्था दर्ता भएर स्वास्थ्य परीक्षण गराउँदै आएकामध्ये ३६ वटा संस्थाले मलेसिया सिन्डिकेट लगाइरहेको उनको आरोप छ ।

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा भएको सिन्डिकेट अन्त्य गर्न सरकारसँग पटक पटक माग गर्दा समेत सरकारले बेवास्ता गरेको सङ्घका महासचिव बजगाईंले बताए ।

उनले स्वास्थ्य परीक्षणमा देशैपिच्छे सिन्डिकेट देखिएको जीकिर गरे । मलेसियामा जाने श्रमिकको स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य भइसकेको भए पनि यो वा त्यो बहानामा जन्मिनु नहुने उनको भनाइ छ ।

उनका अनुसार दुई अर्बभन्दा बढी लगानी, दुई हजारभन्दा बढी प्राविधिक कर्मचारीको संलग्नता रहेको र करिब १० हजार व्यक्तिहरू आश्रित रहेको मेडिकल व्यावसायिक क्षेत्र सिन्डिकेटको नाममा तहसनहस भएको छ ।

गुणस्तरीय सेवा निश्चित गर्न प्रणालीमा सुधार गर्नुपर्ने बताउँदै उनले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्था तथा वैदेशिक रोजगार ऐन परिमार्जन गर्न माग राखे ।

सङ्घले सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढङ्गले निर्धारण गरी एकरूपता कायम गरिनुपर्ने समेत माग गरेको छ ।

प्रकाशित मिति : २०८१ पुष १२ गते, शुक्रबार


Scroll to Top

Janata Media