आज मदन–आश्रित स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइने

जनता संवाददाता
२०८२ बैशाख ३१ गते, बुधबार

काठमाडौँ । नेकपा (एमाले) ले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित (मदन–आश्रित) स्मृति दिवस आगामी जेठ ३ गते देशव्यापीरूपमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाउने भएको छ ।

महासचिव शंकर पोखरेलले आज परिपत्र जारी गर्नुभई पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई स्मृतिसभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यहरू सम्पादन गर्न निर्देश गर्नुभएको छ । एमाले जनताको बहुदलीय जनवादको दिशानिर्देश बमोजिम अगाडि बढिरहेको र मुलुकको बाम तथा प्रजातान्त्रिक आन्दोलनका साथै पार्टी निर्माणमा मदन–आश्रितको देन, उत्सर्ग, समर्पण जति उल्लेख गरे पनि कमी हुने भन्दै पार्टी केन्द्रले मातहतका कमिटीहरूलाई नेताहरूको सम्मान र स्मरणमा सिर्जनात्मक विविध कार्यक्रम आयोजना गर्न निर्देश गरेको हो ।

पार्टीले जिल्ला कमिटीहरूद्वारा गरिने स्मृति सभामा अन्य पार्टीका प्रतिनिधि र सामाजिक व्यक्तित्वहरूलाई समेत आमन्त्रण गर्न सुझाएको छ । स्मृति दिवसमा रक्तदान, स्थानीय टेलिभिजन तथा रेडियोहरूमा परिसम्वाद, आवश्यकताअनुसार सरसफाई कार्यक्रम, स्वास्थ्य शिविर, वृक्षरोपण, स्थानीय तहका जनप्रतिनिधिको अनिवार्य रूपमा श्रमदानमा चौतारो निर्माण, कुलो, पैनी, बगैंचाको हेरचाह, फुटबल, भलिबल ग्राउण्ड सरसफाइ, सार्वजनिक धारा, कुवा सरसफाइ, देउराली, मन्दिर, गुम्बा र अन्य धार्मिक स्थलको सरसफाइ लगायतका कार्यहरू गर्न परिपत्रमा निर्देश गरिएको छ ।

साथै, जनसङ्गठनहरूले सामूहिक श्रमदानमा आधारित युवा केन्द्रित कार्यक्रमहरू गर्न र मातहत कमिटीमार्फत् गराउन निर्देशन गर्न परिपत्रमा भनिएको छ । प्रवासका कमिटीहरूलाई समेत स्मृति दिवस मनाउन परिपत्र गरिएको छ। पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार, जेठ ३ गते पार्टीको केन्द्रीय कार्यालयको आयोजनामा मदन नगर बल्खुमा स्मृति कार्यक्रम आयोजना गरिनेछ ।

जननेता भण्डारी र कुशल सङ्गठक आश्रितको रहस्यमय हत्या भएको आगामी जेठ ३ गते ३२ बर्ष पुग्दैछ । उहाँहरूको २०५० जेठ ३ गते दासढुङ्गामा रहस्यमय गाडि दुर्घटनामा हत्या भएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख ३१ गते, बुधबार


Scroll to Top

Janata Media