विद्युत् कार्यालय टाढा भएपछि वडामै महसुल तिर्ने व्यवस्था

जनता संवाददाता
२०८२ असार ३ गते, मंगलवार

काठमाडौं । खाँदबारी नगरपालिका–४ नम्बर वडाका बासिन्दाले बिजुली महसुल तिर्न सदरमुकाम धाउनु नपर्ने भएको छ। विद्युत प्राधिकरणको कार्यालय टाढा परेपछि वडाबासीको सहजताको लागि वडा कार्यालयमै महसुल तिर्ने व्यवस्था मिलाइएको हो ।

स्थानीयले बिजुली बिल तिर्न धेरै समय र खर्च लाग्ने गुनासो गरेपछि वितरण केन्द्रसँग समन्वय गरी सेवा सुरु गरिएको वडा अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।

खाँदबारी वितरण केन्द्रका प्रमुख सत्रुधन यादवका अनुसार विद्युत प्राधिकरणका कर्मचारी हरेक आइतबार र सोमबार महसुल सङ्कलनका लागि वडा कार्यालय पुग्नेछन् ।

पहिले ३० रुपियाँको बिल तिर्न सदरमुकाम पुग्दा झण्डै ५ सय रुपियाँ खर्चिनुपर्ने बाध्यता रहेको स्थानीय राजु राईले बताए । नयाँ व्यवस्थासँगै सो समस्या हटेको उनले बताए । सोमबार एकैदिन ४४ जनाबाट ११ हजार ७ सय ४५ रुपियाँ सङ्कलन भएको प्राधिकरणले जनाएको छ।

खाँदबारी नगरपालिकाभित्रका दुर्गम वडाहरु ४ नम्बरका साथै १० र ११ नम्बर वडामा समेत चाँडै विद्युत्तको महसुल सङ्कलन गर्ने काउन्टर स्थापना हुने प्राधिकरणले जनाएको छ । वडास्तरमा नै महसुल सङ्कलन गर्ने काउन्टर स्थापना भएपछि स्थानीयहरुको समय र रकम दुवैको वचत भएको छ ।

खाँदबारी नगरपालिकामा ११ वडा छन् ।

प्रकाशित मिति : २०८२ असार ३ गते, मंगलवार


Scroll to Top

Janata Media