विद्यार्थीलाई अलपत्र पारेको आरोपमा बिनी ग्लोबलको खण्डन, एकतर्फि समाचार बनाइयो

जनता संवाददाता
२०८३ कार्तिक २१ गते, शुक्रबार

जापानबाट नेपाल फर्काइएकी युवतीका सन्दर्भमा कन्सल्टेसीले आफुमाथि लागेका आरोपहरु निराधार रहेको दाबी गरेको छ । जनता मिडियाबाट २०८३।०७।०२ गते प्रकाशित तथा प्रसारित समाचार सामग्रीबारे बिनी ग्लोबल कन्सल्टेसीले आरोप निराधार रहेको भन्दै आपत्ति जनाएको हो ।

कन्सल्टेन्सीले आफुमाथि लागेका आरोपहरुलाई बुँदागत रुपमा गसरी खण्डन गरेको छ ।

१. विद्यार्थीलाई झुक्काएर जापान पठाइएको तथा अलपत्र पारेको भन्ने आरोप सम्बन्धमा

Bini Global Education & Training Center Pvt. Ltd. को मुख्य जिम्मेवारी जापानमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई आवश्यक शैक्षिक परामर्श प्रदान गर्ने, जापानी भाषा अध्ययनको तयारी गराउने, सम्बन्धित विद्यालयसँग समन्वय गर्ने तथा आवश्यक कागजात र प्रक्रियामा सहजीकरण गर्ने हो।

विद्यार्थीलाई जापान पठाउनुअघि त्यहाँको शैक्षिक वातावरण, अध्ययनको अनुशासन, विद्यालयका नियम, होस्टेलका नियम तथा विद्यार्थीले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे आवश्यक परामर्श दिइएको थियो। विद्यार्थी स्वयं अध्ययनका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरेपछि मात्र अगाडिको प्रक्रिया अघाइएको हो।

विद्यार्थीको अन्तिम छनोट गर्ने अधिकार सम्बन्धित जापानी भाषा विद्यालयको हो। त्यसैगरी, भिसा जारी गर्ने अधिकार सम्बन्धित अध्यागमन निकायको हो। कन्सल्टेन्सीले विद्यार्थीलाई विद्यालयमा भर्ना गराउन, आवश्यक कागजात पठाउन तथा भिसा प्रक्रियामा सहजीकरण गर्ने भूमिका निर्वाह गरेको हो।

विद्यार्थी जापान पुगिसकेपछि अध्ययन गर्ने, परीक्षा दिने, विद्यालयको नियम पालना गर्ने तथा शैक्षिक प्रगति कायम गर्ने जिम्मेवारी स्वयं विद्यार्थीकै हुन्छ।

सम्बन्धित विद्यालयबाट प्राप्त जानकारीअनुसार विद्यार्थीको अध्ययन तथा परीक्षाको प्रगति सन्तोषजनक नभएको कारण विद्यालयले आवश्यक प्रक्रिया अघի बढाइ निष्कासनसम्बन्धी निर्णय गरेको हो। १५ महिनाको भिसा जारी भएको तथ्य र विद्यालयले ६ महिनापछि गरेको निष्कासनसम्बन्धी निर्णय दुई अलग विषय हुन्। भिसा जारी भएको अवधिलाई मात्र आधार मानेर विद्यार्थीलाई नेपाल फर्काउने निर्णय कन्सल्टेन्सीले गरेको भन्ने आरोप तथ्यगत रूपमा सही होइन।

विद्यार्थीलाई अलपत्र पारिएको भन्ने आरोप पनि हामी पूर्ण रूपमा अस्वीकार गर्दछौँ। जापानस्थित विद्यालय, विद्यार्थी तथा सम्बन्धित परिवारसँग आवश्यक समन्वय र सम्पर्क भइरहेको थियो। यससम्बन्धी पत्रचार तथा कागजात उपलब्ध गराउन हामी तयार छौँ।

त्यसैगरी, विद्यार्थीको जापानी रेजिडेन्स कार्ड प्याल पारिएको विषयमा हाम्रो संस्था या कर्मचारीको कुनै संलग्नता रहेको छैन। उक्त कार्डको अवस्था तथा त्यससँग सम्बन्धित विषय बिधार्थी स्वयं जिम्मेवारी हुने भएकाले कन्सल्ेंसी माथि दोष लगाउनु सरासर गलत र झुटो भ्रम फैलाउने कार्य मात्र हो।

२. मिडिया किन्न्रे तथा मिडियालाई आफ्नो प्रभावमा राखेको अभिव्यक्ति दिएको भन्ने आरोप सम्बन्धमा

हाम्रो संस्थाले कुनै पनि सञ्चारमाध्यमलाई किन्न्रे, आफ्नो प्रभावमा राख्ने वा अनुचित दबाब दिने किसिमको अभिव्यक्ति दिएको छैन।

स्वतंत्र पत्रकारिता, सञ्चारमाध्यमको मर्यादा तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हामी सम्मान गर्दछौँ। सञ्चारमाध्यमलाई आर्थिक वा अन्य प्रभावमा पार्ने उद्देश्य हाम्रो कहिल्यै रहेको छैन।

सम्बन्धित विद्यार्थी, परिवार तथा आफन्तसँग भएका कुराकानी र भेटघाटमा पनि मिडिया किन्ने वा मिडियालाई प्रभावमा राख्ने विषय उठाइएको थिएन।

यदि त्यस्तो अभिव्यक्ति दिएको दाबी गरिएको हो भने कुन मिति, कुन स्थान र कुन सन्दर्भमा कसले त्यस्तो अभिव्यक्ति दिएको हो भन्ने प्रमाणसहित स्पष्ट पारिदिनुहुन अनुरोध गर्दछौँ।

हामीले नदिएको अभिव्यक्तिलाई हाम्रो भनाइमा रूपमा प्रस्तुत गर्नु उचित हुँदैन।

३. विद्यार्थीको परीक्षामा कमजोर नतिजा आएको तथा पुनः परीक्षा दिने अवसर नदिएको विषयमा

विद्यार्थीको परीक्षा सञ्चालन, नतिजा निर्धारण तथा पुनः परीक्षा दिने अवसरसम्बन्धी निर्णय सम्बन्धित जापानी भाषा विद्यालयको शैक्षिक नियम र अधिकार क्षेत्रभित्र पर्ने विषय हुन्। कन्सल्टेन्सीले विद्यालयको शैक्षिक निर्णयमा हस्तक्षेप गर्ने अधिकार राख्दैन।

विद्यालयबाट प्राप्त विवरणअनुसार विद्यार्थीको परीक्षाको नतिजा कमजोर रहेको थियो। उपलब्ध नतिजाअनुसार १३ जना विद्यार्थी रहेको कक्षामा सम्बन्धित विद्यार्थीले १०० पूर्णाङ्कमा सबैको भन्दा न्यून अंक प्राप्त गरेको र परीक्षामा D ग्रेडभन्दा माथिको नतिजा प्राप्त गर्न नसकेको जानकारी प्रमाण सहित प्राप्त भएको छ।

विद्यालयले विद्यार्थीलाई अध्ययन सुधार गर्न सचेत गराएको, अतिरिक्त कक्षा तथा आवश्यक सहयोग उपलब्ध गराएको र कन्सल्टेन्सीबाट समेत फोनमार्फत अध्ययनमा सुधार गर्न अनुरोध गरिएको थियो। तर विद्यार्थीको शैक्षिक प्रगतिमा अपेक्षित सुधार नदेखिएको विषय विद्यालयबाट प्राप्त परीक्षा नतिजा तथा अन्य कागजातबाट स्पष्ट हुने हाम्रो धारणा छ।

जापानी भाषा विद्यालयमा कार्यरत नेपाली कर्मचारीलाई व्यक्तिगत रूपमा दोषारोपण गर्ने वा कसैलाई फसाउने हाम्रो कुनै उद्देश्य छैन। विद्यार्थीको परीक्षासम्बन्धी समस्या र विद्यालयको शैक्षिक निर्णयलाई प्रमाणका आधारमा निष्पक्ष रूपमा हेरिनुपर्छ भन्ने हाम्रो मान्यता हो।

कन्सल्टेन्सीको जिम्मेवारी विद्यार्थीलाई आवश्यक परामर्श, विद्यालयसँग समन्वय, कागजात व्यवस्थापन तथा प्रक्रियागत सहजीकरण गर्नु हो। विद्यार्थी जापान पुगिसकेपछि उसको दैनिक अध्ययन, परीक्षा नतिजा तथा विद्यालयबाट हुने शैक्षिक निर्णयको प्रत्यक्ष जिम्मेवारी कन्सल्टेन्सीको हुँदैन।

४. जनता मिडियाको एकपक्षीय समाचार तथा भिडियो प्रसारणप्रति गम्भीर आपत्ति

जनता मिडियाले यस घटनासम्बन्धी समाचार तथा भिडियो सामग्री आफ्नो आधिकारिक फेसबुक, टिकटक र युट्युब प्लेटफर्ममार्फत सार्वजनिक तथा प्रसारण गरिसकेको छ।

उक्त सामग्रीको प्रस्तुतीकरणबाट Bini Global Education & Training Center Pvt. Ltd. लाई नै सम्पूर्ण घटनाको दोषीका रूपमा चित्रण गरिएको र घटनासँग सम्बन्धित अन्य महत्वपूर्ण पक्षहरूलाई पर्याप्त स्थान नदिइएको हाम्रो गम्भीर आपत्ति छ।

समाचार तयार गर्नुअघि जापानी भाषा विद्यालयको भूमिका, विद्यार्थीको शैक्षिक अवस्था, परीक्षाको नतिजा, निष्कासनको कारण, आर्थिक कारोबार तथा कन्सल्टेन्सीले निर्वाह गरेको वास्तविक जिम्मेवारीजस्ता विषयहरूको पर्याप्त अध्ययन हुनुपर्ने थियो।

तर यी विषयहरूको वास्तविकता बुझ्न आवश्यक कागजात तथा सम्बन्धित पक्षहरूको धारणा समुचित रूपमा समेटिएको देखिँदैन।

कुनै पनि घटनामा एक पक्षको भनाइलाई मात्र आधार बनाएर अर्को पक्षलाई सार्वजनिक रूपमा दोषीका रूपमा प्रस्तुत गर्नु निष्पक्ष पत्रकारिताको मर्मअनुकूल हुँदैन।

विशेषगरी सामाजिक सञ्जालमार्फत प्रसारित भिडियो सामग्री ठूलो संख्यामा दर्शकसम्म पुग्ने भएकाले त्यसमा प्रस्तुत गरिएका आरोप, दृश्य र भनाइले सम्बन्धित व्यक्ति तथा संस्थाको प्रतिष्ठामा प्रत्यक्ष प्रभाव पार्न सक्छन्।

हाम्रो संस्थाको आधिकारिक धारणा, उपलब्ध प्रमाण तथा घटनाको वास्तविक सन्दर्भलाई उचित महत्व नदीई एकपक्षीय रूपमा सामग्री प्रस्तुत गर्दा आमदर्शकमा Bini Global Education & Training Center Pvt. Ltd. ले नै विद्यार्थीमाथि अन्याय गरेको वा गैरकानूनी कार्य गरेको भन्ने गलत धारणा सिर्जना हुन सक्ने अवस्था उत्पन्न भएको छ।

हामी पत्रकारिताको स्वतन्त्रताविरुद्ध छैनौँ। तर पत्रकारिताको स्वतन्त्रता र पत्रकारिताको जिम्मेवारी दुवै समान रूपमा महत्वपूर्ण छन्। समाचारमा सम्बन्धित पक्षको भनाइ, उपलब्ध प्रमाण र घटनाको अर्को पाटोलाई पनि समान महत्व दिनु आवश्यक हुन्छ।

तसर्थ, जनता मिडियाले  हाम्रो आधिकारिक खण्डनलाई पनि समान महत्वका साथ सार्वजनिक गर्न अनुरोध गर्दछौँ।

५. हाम्रो कार्यालयमा भएको भेटघाट तथा पत्रकारहरूको व्यवहार सम्बन्धमा

हाम्रो संस्थामा भएको भेटघाटको क्रममा ७–८ जनाको समूहमा पूर्वजानकारी तथा स्पष्ट समन्वयबिना उपस्थित भई ठूलो स्वरमा प्रश्न गर्ने, तत्काल निर्णय दिन दबाब दिने तथा विद्यालयमा बुझाइएको रकम तत्काल फिर्ता गर्न माग गर्ने परिस्थिति सिर्जना भएको हाम्रो अनुभव छ।

हामीले सम्बन्धित विद्यालय, विद्यार्थी तथा परिवारसँग भइरहेको समन्वय र उपलब्ध कागजातका आधारमा आफ्नो धारणा राख्न खोज्दा समेत त्यसको पर्याप्त सुनुवाइ नभएको महसुस गरेका छौँ।

त्यस क्रममा हाम्रो संस्थाको पहुँच र अधिकार क्षेत्रभन्दा बाहिर रहेका विषयमा समेत तत्काल निर्णय दिन दबाब दिएको थियो।

हामीले सञ्चारमाध्यमको काममा अवरोध पुऱ्याउने वा प्रश्न सोध्न नदिने उद्देश्य राखेका छैनौँ। तर समाचार संकलनका क्रममा कुनै पनि संस्थामा उपस्थित हुँदा सामान्य व्यावसायिक शिष्टाचार, मर्यादा तथा सम्बन्धित पक्षको सम्मान कायम राखिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।

भेटघाटको क्रममा भएका सम्पूर्ण कुराकानी र त्यसको सन्दर्भलाई निष्पक्ष रूपमा प्रस्तुत गर्नुको सट्टा छनोट गरिएका दृश्य तथा भनाइ मात्र प्रसारण गरिएको भए त्यसले घटनाको वास्तविकता विकृत गर्न सक्छ।

यस विषयमा उपलब्ध मूल भिडियो र प्रसारित भिडियोको तुलनात्मक अध्ययन गरिनु आवश्यक छ।

६. संस्थाको प्रतिष्ठा तथा व्यावसायिक मर्यादामा परेको असर

कुनै पनि संस्थामाथि प्रश्न उठ्नु र त्यसको जवाफ मागिनु स्वाभाविक प्रक्रिया हो। हामी पनि आफ्नो कामकारबाही, सेवा तथा जिम्मेवारीका विषयमा सम्बन्धित निकाय र सरोकारवालासमक्ष जवाफ दिन तयार छौँ।

तर अपूर्ण सूचना, एकपक्षीय प्रस्तुतीकरण वा प्रमाणबाट पुष्टि नभएका आरोपलाई स्थापित तथ्यका रूपमा प्रस्तुत गर्दा संस्थाको प्रतिष्ठा, कर्मचारीको मनोबल तथा संस्थासँग सम्बन्धित विद्यार्थी र अभिभावकको विश्वासमा नकारात्मक असर पर्न सक्छ।

विशेषगरी फेसबुक, टिकटक र युट्युबमा सार्वजनिक गरिएको सामग्रीका कारण संस्थाको व्यावसायिक छविमा र सामाजिक प्रतिष्ठामा असर पर्ने अवस्था सिर्जना भएको छ।

हाम्रो संस्था एक व्यक्तिलो मात्र नभई कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्बन्धित परिवारको विश्वाससँग जोडिएको संस्था हो। त्यसैले कुनै पनि समाचार प्रकाशन तथा प्रसारण गर्दा सम्बन्धित सबै पक्षको भनाइ र प्रमाणलाई उचित महत्व दिनु आवश्यक छ।

हामीमाथि लगाइएका आरोपहरूको निष्पक्ष परीक्षण होस् भन्ने हाम्रो चाहना हो। तर पर्याप्त तथ्यगत आधारबिना संस्थालाई सार्वजनिक रूपमा दोषीका रूपमा चित्रण गर्ने कार्य स्वीकार्य हुन सक्दैन।

७. संलग्न प्रमाण तथा कागजातहरूको औचित्य

यस खण्डनपत्रसाथ संलग्न गरिएका कागजातहरू Bini Global Education & Training Center Pvt. Ltd. ले विद्यार्थीलाई झुक्काएको, ठगी गरेको वा जापानमा अलपत्र पारेको भन्ने आरोपलाई समर्थन गर्ने प्रमाण नभई घटनाको वास्तविकता, कन्सल्टेन्सीको भूमिका, सम्बन्धित विद्यालयको निर्णय तथा विद्यार्थीको शैक्षिक अवस्थाबारे तथ्य स्पष्ट पार्ने प्रयोजनका कागजातहरू हुन्।

उक्त कागजातहरूले विद्यार्थीको निष्कासनसम्बन्धी कारण, परीक्षाको वास्तविक नतिजा, विद्यालयसँग भएको आर्थिक कारोबार, विद्यालयलाई बुझाइएको शुल्क तथा विद्यालयबाट फिर्ता हुने रकमसम्बन्धी विवरण स्पष्ट पार्न सहयोग गर्छन्।

सम्बन्धित कागजातहरुः

संलग्न कागजातहरू…

प्रकाशित मिति : २०८३ कार्तिक २१ गते, शुक्रबार