काठमाडौँ । मनऋषी पाण्डे एक यस्ता वडाध्यक्ष हुन्, उनको विगत हेर्दा स्वास्थ्य क्षेत्रमा हुम्ला जस्तो एकदमै विकट जिल्लाका जनताहरुलाई भरपर्दो स्वास्थ्यपोचार सेवा विस्तार गरी अधिकांशको ज्यान समेत बचाएका छन् । अहिले उनी हुम्लाको अदानचुली गाउँपालिका वडा नं ४ को वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
उनै एक प्रभावशाली जनप्रतिनिधि पाण्डेसँग अदानचुली वडा नं ४ तथा समग्रको अदानचुलीको पाँच वर्षको भविस्यलाई नियाल्दै विकास र समृद्धिका कुरा भएका छन् । पाण्डेसँग जनता मिडियाका प्रबन्ध निर्देशक चक्र दानीले गरेको कुराकानीको सम्पादित अंश :
तपाईँले निर्वाचित भएको चार महिनालाई कसरी लिनुभएको छ ?
यो चार महिना विशेषत सिकाईको पिरेड नै रह्यो । हामी भन्दा पहिलाका प्रतिनिधिहरुले हस्तान्तरण गरेपछि उनीहरुले गरेका काम, कर्तव्य र अधिकारहरुको मुल्याङ्कन गर्ने, हेर्ने, व्यवस्थापन गर्ने कार्यहरुमा नै बित्यो ।
यो पाँच वर्षको अवधिभर के के गर्ने योजना छ ?
मेरो विगत हेर्दा स्वास्थ्य क्षेत्र हो । यस क्षेत्रमा पहिला व्यावसायिक रुपमा अगाडी बढिरहेको थिँए । तर म यसलाई व्यावसायिक नभई सेवामुलक रुपमा अगाडी बढाउन राजनीतिमा आएको हो । यसो झट्ट हेर्दा अदानचुलीको अवस्था एकदमै विकराल छ । दुई ओटा सामुदायिक स्वास्थ्य चौकी छन् तर त्यहाँ जनशक्ति प्रयाप्त छैन । औषधी व्यवस्था पनि त्यति राम्रो छैन । केहि विगतको सरकारले काम गरेको केहि हामी निर्वाचित भईसकेपछि हामीले प्रत्येक सामुदायिक स्वास्थ्य ईकाइ सञ्चालन गर्ने र नियमित रुपमा नेपाल सरकारले दिएको मापदण्ड अनुरुप औषधी जनतालाई सस्तो र सुलभ वितरण गर्ने, उपचार गराउने भन्ने हाम्रो अवधारणा छ । यदि एउटा स्वास्थ्य क्षेत्रको मैँले अब्बल भएर काम गरेँ भने अरु साथीहरुलाई पनि जागरुकता उत्पन्न हुन्छ । अदानचुलीलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउने भन्ने नै मेरो पहलो प्राथमिकता हो । त्यसैगरि शिक्षा, खानेपानी, मोटर बाटो, टेलिफोन र विद्दुतलाई पनि जोडबलका साथ अगाडी बढाउने प्रयास मेरो रहन्छ । त्यसकारण यो पाँच वर्षभित्र जसरी भएपनि एउटा छुट्टै नमुना वडाको रुपमा चिनाउने मेरो सपना छ र त्यहिअनुसार काम र योजनाहरु अगाडी बढाईरहेको छु ।
स्वास्थ्य क्षेत्रमा काम गर्दै गर्दा आफुलाई एकदमै अब्बल रुपमा स्थापित गर्नुभयो । त्यस्तै वडाध्यक्ष भईसकेपछि आफुलाई कसरी स्थापित गराउन चाहुनुहुन्छ ?
मेरो विगत हेर्दा स्वास्थ्य क्षेत्रमा एउटा व्यवसायी जस्तो थिँए । व्यवसाय गर्दाखेरी मेरो क्षेत्रमा अब्बल हुने नहुने आफ्नो ठाउँमा छ । त्यो जनतालाई अनुभूति हुने कुरा हो । त्यो बेलाको कामले मलाई सम्पूर्ण अदानचुली बासीहरुले चिन्ने अवस्था सिर्जना भयो । स्वास्थ्य क्लिनिक अर्थात मेडिकल सञ्चालन गरेँ । यसरी मैँले जनतालाई उपचार गर्ने राम्रा् अवसर पाँए । त्यतिखेर मैँले केहि रकम लिएर काम गर्थेँ । तर अहिले स्वस्फूर्त रुपमा काम गर्ने ठुलो अवसर पाएको छु । जनताले नेपाल सरकारबाट पाउने सेवा सुविधाहरु जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता थुप्रै कुराहरु निशुल्क रुपमा पाउने अवस्था बनाउन मैँले यो मौका पाएको छु । यस्ता कुराहरुलाई मध्यनजर गरेर म त्यो क्षेत्रमा पनि पहिलेकै जस्तो अब्बल रहने कोशिस गरिरहेको छु । अर्को कुरा अदानचुलीको प्रत्येक गाउँ बस्तिमा सडक पुर्याउने काम भईरहेको पनि छ । त्यसलाई निरन्तरता र स्तरोन्नति गरेर काम अगाडी बढाईरहेका छौँ । त्यसकारण अब हामी ५ वर्षभित्र जनताहरुलाई स्थानीय सरकार आएको अनुभूति हुने गरी काम गर्नेमा ढुक्क छौँ र प्रतिबद्धताका साथ योजना तर्जूमा गरिरहेका छौँ । अहिले अदानचुलीमा शिक्षा, स्वास्थ्य, रोजगार, सडक यस्तै अन्य थुप्रै कुरामा हाम्रो विशेष जोड रहने छ ।
सिंगो अदानचुलीलाई विकासको पृथक मोडेल तयार गर्न तपाईँको भूमिका के रहन्छ ?
म अहिले अदानचुली गाउँपालिका वडा नं ४ को जनप्रतिनिधि भएतापनि सिंगो अदानचुलीको समस्यालाई बुझ्नुपर्छ, हेर्नुपर्छ भन्ने मेरो मान्यता छ । मैँले आफै पनि त्यहाँका हरेका समस्याहरु भोगेको छु । त्यहाँको बेरोजगारी, अशिक्षा, पछौटेपन प्रत्यक्ष रुपमा महशुस गरेको छु । अहिलेसम्म हामी राष्ट्रिय सडक सञ्जालमा जोडिएका छैनौ । सकेसम्म पहिला त प्रत्येक गाउँ गाउँमा राष्ट्रिय सडक सञजालमा जोड्ने भन्ने हाम्रो लक्ष्य हो । त्यसपछि अन्धकारमा रहेको अदानचुलीलाई विद्दुत प्रसारण लाइनमा जोडेर उज्यालो बनाउने पनि हाम्रो लक्ष्य छ । अहिले हामीसँग दुईओटा विद्दुतका छुट्टाछुट्टै आयोजनाहरु छन् । ती आयोजनाहरुका कामहरु पनि धमाधम भईरहेका छन् । यि आयोजनाहरु जतिसक्दो छिटो सम्पन्न गरेर उज्यालो अदानचुली बनाउने कामको सुरुवात भईसकेको छ । अनि अदानचुलीमै प्राविधिक शिक्षा पनि सञ्चालनमा ल्याउने हाम्रो तयारी छ । यसमा मेरो पनि सकेको पहल रहने छ । नेपाल सरकारको स्वास्थ्य निती २०७१ अनुसार एक गाउँपालिकामा १५ सैया सम्मको अस्पताल राख्ने प्रावधान छ । त्यो आयोजना हाम्रो गाउँपालिकामा पनि परेको छ । छिटोभन्दा छिटो जग्गा पास गरेर १५ सैयाको अस्पताल स्थापना गर्ने र जनतालाई विशेषज्ञ स्वास्थ्यकर्मी सहितको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने समेत मेरो अग्रणी रुपमा मेरो पहल रहने छ । टेलिफोनको समस्यालाई दिगो रुपमा पनि समाधान गर्न सम्भाव्यता अध्ययन गरेर 4G सहितको नेटवर्क जडान गर्ने तयारीमा छौँ । त्यसको लागि सामान पालिकामा पुगिसकेको छ । अब काम छिट्टै सुरु हुन्छ । अनि अदानचुली कृषि क्षेत्रमा पनि उत्तिकै सम्भावना बोकेको ठाउँ हो । यो क्षेत्रलाई कृषि हब क्षेत्र बनाउन विभिन्न प्रकारका अन्नबाली, तरकारी, फलफुल उत्पादन क्षेत्र पहिचान गरेर कृषि क्षेत्रमा पनि जोड दिने योजना छ । जे होस् पाँच वर्षभित्र जनताले स्थानीय सरकार आएको महशुस हुने गरी काम गर्नेमा प्रतिबद्ध छौँ । बजारतिर आफ्नो बाल बच्चालाई कसरी राम्रो पढाउने भन्ने प्रतिस्पर्धा छ भने हाम्रोतिर कसरी बिहान बेलुका छाक टार्ने भन्ने समस्या जिउँ का तिउँ छ । त्यो अवस्थालाई पुरै परिवर्तन गर्ने मेरो प्रयास अनवरत रुपमा छ । त्यसै अनुसार कार्ययोजनाहरु बनाईरहेका छौँ ।
तपाईँले निर्वाचित भए लगत्तै पारिश्रमिक नलिएर कुनै आवश्यक ठाउँमा लगानी गर्छु भनेर विज्ञप्ति समेत निकाल्नुभएको थियो । यो कस्तो किसिमको निर्णय हो ?
हाम्रो ठाउँमा जनप्रतिनिधि हुने बित्तिकै पुरै जीवनशैली नै परिवर्तन गने, धेरै समय सहरमै बिताउने भन्ने आरोप छ । हामी निर्वाचित हुनुभन्दा पहिला पनि बाँचेका थियौँ । हाम्रो जीवन चलेकै थियो । त्यो कुरालाई पुरै निमिट्यान्न पार्न पुरा जोस जाँगरका साथ लागिरहेको छु । नेपनल सरकारले यिनीहरु भ्रष्टाचारी नहुन्, जनताको सेवा गरुन् भनेर केहि पारिश्रमिकको व्यवस्था गरेको छ । मलाई वडाअध्यक्षको मासिक लगभग १९,००० उन्नाइस हजार जति तलब आउँछ । त्यो तलब प्रत्येक वर्षको आर्थिक वर्ष सकिने बित्तिकै सम्पूर्ण नेता, कार्यकर्ता र त्इहाँका जनताको सल्लाहअनुसार भैपरी आउने शिक्षा, बेरोजगारी समस्या समाधान गर्न विशेष योगदान गर्ने मेरो घोषणा हो । यो चाँहि मेरो पूर्ण कार्यकाल भरि लागु हुने गरी विज्ञप्ति जारी गरेको हुँ ।
अन्त्यमा, आउँदै गरेको दशैँ, तिहारको अवसरमा तपाईँका वडाबासिहरुलाई कसरी शुभकामना व्यक्त गर्नुहुन्छ ?
मलाई अमुल्य भोट दिएर निर्वाचित गराउनुहुने अदानचुली ४ बासि सम्पूर्ण दाजुभाई, दिदि बहिनी, बुवाआमालाई धन्यवाद दिन चाहन्छु । दशैँ र तिहारको अवसरमा पनि हार्दिक शुभकामना दिन चाहन्छु । अदानचुली गाउँपालिकाबासि लगायत सम्पूर्ण देशबासिहरुलाई पनि शुभकामना दिन चाहन्छु । मेरो सरकारमा कहिल्यैपनि विभेद नहुने गरी काम गर्नेछु । कोहि कसैलाई अन्यायमा पर्न दिइने छैन । भनने पनि विश्वास दिलाउन चाहन्छु ।