मौलिक संस्कृति र परम्पराको उत्सव ‘हाँडीगाउँको जात्रा’

जनता संवाददाता
२०८३ कार्तिक ११ गते, मंगलवार

काठमाडौँ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ नेपाली समाजमा प्रचलित एक चर्चित उखान हो। तर यो उखानसँग जोडिएको काठमाडौँको हाँडीगाउँमा मनाइने जात्रा भने नेपालको मौलिक संस्कृति, धार्मिक आस्था र ऐतिहासिक परम्पराको अनुपम उदाहरण हो।

काठमाडौँको हाँडीगाउँमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने यो जात्रा अन्य जात्राभन्दा फरक शैलीका कारण विशेष पहिचान बनाउन सफल भएको छ।

(चोक्टे नारायण जात्रा) का नामले समेत चिनिने यस पर्वमा ब्रह्मा, विष्णु र महेश्वरका प्रतीक रहेका तीनवटा खट निकालेर विभिन्न टोल परिक्रमा गराइन्छ। यस जात्राको मुख्य विशेषता नै खटको अनौठो बनावट र परिक्रमा गर्ने शैली हो।

अन्य जात्रामा देवताको मूर्ति माथि र गजुर तल हुने चलन भए पनि हाँडीगाउँको जात्रामा गजुर तल र देवताको मूर्ति माथि राखिन्छ। बाँस तथा काठको सहायताले बनाइएका खटलाई विशेष विधिबाट घुमाउँदै परिक्रमा गराइने भएकाले यो जात्रा अरूभन्दा फरक देखिन्छ।

तीन देवता, तीन खट र छुट्टै परम्परा

जात्राका क्रममा हाँडीगाउँका तीन फरक टोलमा ब्रह्मा, विष्णु र महेश्वरका खट राखेर पूजा गरिन्छ। माथिल्लो ठटालटोलबाट ब्रह्माको, बीचको न्याल्मटोलबाट विष्णु (नारायण) को र तल्लो कोटालटोलबाट महेश्वरको खट निकाल्ने परम्परा छ। तीनवटै खटको दर्शन तथा पूजाआराधना गर्न स्थानीय बासिन्दासहित भक्तजनको सहभागीता रहने गर्छ।

यस जात्रामा खट सजाउन मैनबाट बनाइएका फूल प्रयोग गरिनु अर्को विशेषता हो। खट घुमाउने क्रममा झर्ने फूल टिप्नसमेत मानिसहरू उत्साहित हुने गर्छन्। स्थानीय जनविश्वासअनुसार ती फूलको धार्मिक तथा सांस्कृतिक महत्त्व छ।

जात्रासँग जोडिएको किंवदन्ती

हाँडीगाउँको जात्राको उत्पत्तिसँग विभिन्न किंवदन्ती जोडिएका छन्। प्रचलित जनश्रुतिअनुसार एउटी महिला गर्भवती भए पनि १२ वर्षसम्म सुत्केरी हुन नसकेपछि नारायणको आराधना गर्न पुगेकी थिइन्।

नारायणलाई प्रसन्न पार्न अन्यत्र नभएको जात्रा देखाउने वाचा गरेपछि उनको मनोकामना पूरा भएको र त्यसैको सम्झनामा जात्रा सुरु भएको विश्वास गरिन्छ।

ऐतिहासिक रूपमा समेत महत्त्वपूर्ण मानिने हाँडीगाउँलाई किराँतकालमा अन्डीपृंग र लिच्छविकालमा अन्डीग्राम भनिने गरेको उल्लेख पाइन्छ। यहाँको जात्राले प्राचीन बस्तीको इतिहास, धार्मिक विश्वास र नेवार समुदायको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न योगदान पुर्‍याउँदै आएको छ।

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखानले अनौठो वा अरूभन्दा फरक कामलाई जनाउने अर्थसमेत बोकेको छ। तर हाँडीगाउँका बासिन्दाका लागि यो केबल उखानमा सीमित छैन, बरु पुर्खादेखि चलिआएको परम्परा र आफ्नो मौलिक पहिचानप्रतिको गौरव हो।

पुस्तौँदेखि निरन्तर मनाइँदै आएको यस जात्राले काठमाडौँ उपत्यकाको सांस्कृतिक विविधता र सम्पदाको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

 

प्रकाशित मिति : २०८३ कार्तिक ११ गते, मंगलवार