हुम्लामा पालिकाको बजेट पास नहुँदा कर्मचारी तथा शिक्षकले तलब पाएनन्

जनता संवाददाता
२०७९ आश्विन १९ गते, बुधबार

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका बाहेक अन्य ६ ओटा गाउँपालिकाको बजेट पारित नहुँदा कर्मचारी र शिक्षकले साउनदेखि तलब पाएका छैनन् । गाउँसभाको बैठक समयमा बस्न नसक्दा बजेट पास हुन नसकेको हो ।

त्यस्तै ताँजाकोट गाउँपालिकामा पनि छिट्टै पारिश्रमिक वितरण गरिने जनाईएको छ । गाउँपालिका अध्यक्ष लालाकेश जैसीका अनुसार, ‘हामी पनि छिट्टै शिक्षक र कर्मचारीहरुलाई तलब उपलब्ध गराउने तयारीमा छौँ । अबको २/३ दिनमा वितरण गछौँ ।’

कोलोनिकाका अनुसार सिमकोट जस्तै खार्पुनाथ र ताँजाकोट गाउँपालिकाहरुले पनि प्रथम त्रैमासिक निकासा लिइसकेका छन् तर विविध कारणले सिमकोट बाहेक अरु गाउँपालिकाहरुले दशैं अगाडी कर्मचारीका तलब भत्ता कसैले खुवाउन नसकेको कारण कर्मचारीहरुका असन्तुष्टि सार्वजनिक भईरहेका छन् ।

गत आब ७८/०७९को आय–व्यय तथा वेरुजु तथा कागजपत्र मिलाउन नसकेर सर्केगाड, चंखेली र अदानचुलीले कोलोनिकाबाट प्रथम त्रैमासिक निकासा समेत लिन नसकेको जिल्ला कोलोनिका स्रोतले बताएको छ ।

दशैँको मुखमा नै शिक्षक तथा कर्मचारीहरुले पारिश्रमिक नपाउँदा कसरी दशैँ खर्च जुटाउने भन्ने समस्यामा परेका छन् । पालिकाहरुले भने बजेट पारित नहुँदा र चुनाव पनि नजिकै आएका कारण बजेट निकासा गर्न नसकिएको भनेर टार्ने गरेका छन् ।

 

प्रकाशित मिति : २०७९ आश्विन १९ गते, बुधबार


Scroll to Top

Janata Media