एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई महिनैपिच्छे भत्ता

जनता संवाददाता
२०७९ कार्तिक २१ गते, सोमबार

पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो ।

कुश्मा नगरपालिकाले विद्यार्थीमा पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । मासिक रूपमा विद्यार्थीलाई दुई हजार रुपैयाँ भत्ता दिन थालिएकाे उनले बताए ।

यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नुका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक टेवासमेत हुने विश्वास उनले व्यक्त गरे । यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ ।

एसइईमा ‘ए’ प्लस ल्याएर कक्षा ११ मा फेल भएमा भने भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको छ । सामुदायिक विद्यालयका बालबालिकालाई भत्ता दिए पनि संस्थागत अर्थात् निजी बोर्डिङमा पढ्ने विद्यार्थीहरूलाई भने नदिइने नगरप्रमुख जोशीले बताए ।

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते, सोमबार


Scroll to Top

Janata Media