हुम्ला र बाजुराको सिमा विवाद सतहमा आएको छ । केही दिन अगाडी सिमामा शुदुर पश्चिम प्रदेशले हुम्लासँग कुनै पनि समन्वय नगरी प्रहरी पोष्ट निर्माण गर्न थालेपछि झडपको स्थिति सिर्जना भएको थियो । झडपमा बाजुराका केही व्यक्ति घाईते भएका थिए । त्यस्को प्रतिकारमा बाजुराले कर्णाली करिडोर ठप्प पारेको छ । मोटर बाटोको सुविधामा पनि चर्को घाममा भारी सहित निरिह बनेर हिँड्न बाध्य छन् हुम्लीहरु..
सबैभन्दा पहिला रानी खर्कका बारेमा केही सामान्य जानकारी प्रस्तुत गर्छु, रानीखर्क वर्षायाममा पशुचरण क्षेत्र, बहुमूल्य हिमाली जडीबुटीको श्रोत, अध्यात्मिकहरुको लागि तपश्या गर्ने तपोभूमी, मनोरञ्जन गर्नेहरुको लागी मनोरञ्जन स्थल, हिमाली जडीबुटीको विविधता अध्ययन र प्राकृतिक तथा हिमालको मनोरम दृश्यावलोकन गर्न मिल्ने स्थल हो । यो समुन्द्र सतह देखि ३५०० मीटर सैपाल हिमालको अधार शिविर देखि ५००० मीटर माथिलो तहको चौरीखर्क सम्मको उचाई र सैपाल हिमालको पूर्वी मोहडाको काखमा अवस्थित एक सानो उपत्यका हो । जसको बिच भागबाट सैपाल हिमालको श्रोत भै नागभेली आकारले बग्ने अति कलात्मक नदीलाई रानीखर्क नदि भनिन्छ । उतर दक्षिण र पूर्वी मोहडाहरुमा चौरी गोठ बनाएका खर्कहरु र पश्चिमबाट पूर्वतिर फर्केको सैपाल हिमाल जुन सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशको सिमानामा पर्दछ । जसको संरक्षण तथा उपभोक परापूर्वकालदेखि नाम्खा गाउँपालिका वडा नं ३ खगाल गाउँ र वडा नं ४ चाला गाउँले गर्दै आएको छ ।
ऐतिहासिक तथ्यहरु
इतिहास र पुर्खाहरुको भनाई अनुसार २०१४ साल भन्दा पहिले हालको नाम्खा गाउँपालिका वडा नं ४ स्थित तुम्कोट गुम्बाले रानीखर्कको चरणको तिरो उठाउने परम्परा थियो ।
२०१४ साल देखि बाली तिरो (९८०) तत्कालीन मुचु पञ्चायत चाला गाउँ निबासी भिउरे भोटे र कार्मा भोटे समेत दुई जनाको नाममा जुम्ला मालपोत कार्यालयमा तिर्दै आएको भन्ने प्रमाण पुनरावेदन अदालत जुम्लाको मिलापत्रमा उल्लेख भएको ।
तत्कालीन मुचु पञ्चायत हाल नाम्खा ४ निवासी मुः ग्येलुम तामाङ, नाईछिरीङ तामाङ र काल्जाङ गुरुङ समेत तिनजनाले २०३२।६।७ मा नापजाँच गरी २०३५ सालमा नम्बरीमा चौंरी दर्ता गरी तिरो समेत तिरेको । जिल्ला अदालत हुम्लाको फैसलामा उल्लेख)
२०३७ अषाढ ३१ गते डाँडा लेप्चे सुमजोम भन्ने ठाउँमा तत्कालीन खगालगाउँ पञ्चायत, हाल नाम्खा ३ खगालगाउँ र चोरी दर्ता गर्ने बिच झगडा भै खगालगाउँ पक्षका मान्छेहरु सिमकोट गई मालपोत कार्यालयमा बुझ्दा चोरी दर्ता गरेको खुलासा ।
२०३७।६।२३ मा चोरी दर्ता विरुद्द खगाल गाउँ पक्षबाट सार्वजानिक वन वा खर्क कायम गरिपाउँ वा तत्कालीन अदालतको भाषामा सन्धी सर्पन कायम गरिपाउँ भनी हुम्ला जिल्ला अदालतमा मुद्दा दर्ता गरेको ।
विभिन्न मितिमा अदालतले गरेको फैसलाहरु
२०३९ साल अषाढ ३० गते जिल्ला अदालत हुम्लाको फैसला ।
२०४० अषाढ ३० गते अञ्चल अदालत जुम्लाको फैसला ।
२०४३ भाद्र ११ गते मध्य पश्चिम क्षेत्रिय अदालतको फैसला ।
२०४५ जेष्ठ २७ गते वादी प्रतीवादी बिच पुनरावेदन अदालतमा मिलापत्र भएको ।
नाम्खा गाउँपालिकाले संकलन गरेको केहि तथ्य र प्रमाणहरु
क) २०७६ सालमा नाम्खा गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वयमा नेपाल टेलिभिजनको राष्ट्रिय टिमद्धारा रानीखर्क वन वृतचित्रमा कैद गरि नेपाल टेलिभिजनमा प्रसारण गरेको प्रमाण ।
ख) २०७७ देखि २०७९ साल सम्म स्वास्थ्य शिविर र पशु स्वास्थ्य शिविर संचालन गरेको प्रमाण ।
ग) संचार सुविधाको लागी गा।पा।को सिफारिसमा नाम्खा ३ निवासी सोनाम लामाको नाममा ९९४८७०२०२ र ९९४८७९२०३ ख्(कबत टेलीफोन लाईन जडान गरी संचालन र नेपाल टेलिकममा राजश्व तिरेको प्रमाण ।
घ) २०७५ साल देखि नाम्खा गाउँपालिका बाहेक अन्यत्रवाट रानीखर्क वनमा चरिचरण गरेबापत चरण कर लिएको प्रमाण ।
ङ) नाम्खा गा।पा।को अनुदान सहयोग र स्थानीय जनश्रमदानद्धारा रानी खर्कमा विभिन्न भौतिक पुर्वाधार निर्माण जस्तैः पुल, गोरेटोबाटो, खानेपानी आदी ।
च) आर्थिक वर्ष २०७९।०८० मा नेपाल सरकारको संघिय बजेट मार्फत विनियोजित कमागत सडक योजना हुम्ला खगालगाउँ देखि लुयटा, साँकालाग्ना, रानीखर्क, लाम्पाटा, ओक्ले लाग्ना, रिपगाउँको ल्याप्छे हुदै कर्णाली राजमार्ग जोड्ने मोटर बाटो आदी ।
भोकचलनको आधारमा सामाजिक तथ्यहरु
क) सेर्ताक रिम्पोछे हाल नाम्खाख्युङजोङ गुम्वा याल्वाङको रिम्पोछेको हजुरबुवा ३ बर्ष ३ महिना ३ दिन ल्होसुम (ध्यान) वसेको, खगालगाउँको लामा साँगे र चालाको लामा छिंटाक्पा समेत ३ जना ध्यानमा वसको भवनको अवश्यस ।
ख) चौरीगोठ बस्ने ठाउँहरुको नाम लामा खाम भाषामा छ जस्तैः सुमजोम, टिलिङ, छोनाङमु, छोकार्मु, दौले, लेम्चे, थोरथोरे, लाईसार्वा, ह्योछो, थार्गो आदी । विषेश स्थानहरुको नाम जस्तैः सिलिङगे ल, झेकुगा, थाङपार्मा, थाङछयोमु, पाल्टाक्सा, रिगाधोसा, फु छोईकाम, सिमारी, धौले, सिप्फक, मार्योड आदी ।
ग) रानीसैनाको नाममा संघ संस्थाहरुको दर्ता जस्तैः रानीसैना बचत तथा ऋण सहकारी संस्था, छोईला रानीसैना सहकारी संस्था, रानीसैना चौरी पालन, रानीसैना आमा समुह, रानीसैना महिला समुह आदी ।







