
काठमाडौँ । पोखरेलीले पाँच दशकअघि देखेको अन्तर्राष्ट्रिय विमानस्थलको सपना आइतबार पूरा हुँदै छ । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दै छन् । उद्घाटनका दिन हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्ने भए पनि अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्नेछ ।
अन्नपूर्ण हिमशृंखलाको आँगनमै बनेको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएको खुसीमा बिदा दिइएको यो सम्भवतः पहिलो पटक हो । उद्घाटन समारोहमा स्थानीयको व्यापक सहभागिताका लागि महानगरका कर्मचारी, शिक्षकलगायत सबैलाई अनिवार्य उपस्थितिको आह्वान गरिएको छ ।
पुरानो विमानस्थलदेखि तीन किलोमिटर पूर्व छिनेडाँडा क्षेत्रको २ सय हेक्टर क्षेत्रफलमा करिब २२ अर्ब रुपैयाँ चिनियाँ ऋण लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो । नयाँ विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउनुअघि पुरानो विमानस्थलबाट जोमसोम चल्ने साना जहाज, हेलिकोप्टर र अल्ट्रालाइट चल्नेछन् । त्यसपछि ६ दशक पुरानो विमानस्थल पूर्णरूपमा विस्थापित हुनेछ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २०३२ मा जग्गा अधिग्रहण सुरु भएको थियो । त्यतिबेला ३ हजार १ सय ६ रोपनी जग्गाको मुआब्जा दिई अधिग्रहण गरिएको थियो । हाल ३ हजार ८ सय ९९ रोपनीमा विमानस्थल निर्माण भएको छ ।