
हुम्ला । लालकेश जैसी, हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष हुन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटिको सह सचिव समेत रहेका उनी पार्टीभित्र र बाहिर एकदमै सक्रिय र प्रभावशाली व्यक्तित्वका रुपमा चिनिन्छन् । सधै निडर र सक्षम नेतृत्व गर्न सक्ने क्षमता भएका जैसी माओवादी आन्दोलनका खम्बा हुन् । प्रदेश देखि केन्द्रसम्म पहुँच राम्रो बनाउन सफल भएका उनी अहिले हुम्लाको ताँजाकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।
उनका विपक्षीहरुले उनलाई केन्द्रमा राम्रै पहुँच भएको नेतृत्व क्षमता राम्रो भएको मान्छे स्थानीय तहमा चुनाव लड्यो भनेर आलोचना समेत गरे । तर उनी अत्यधिक बहुमतका साथ विजयी पनि भए । उनले विपक्षी भनेको जस्तै साँच्चिकै सत्ताको मोह चाख्न स्थानीय गएका हुन् या ताँजाकोट बासिको जीवनस्तर बदल्न गएका हुन् । त्यो उनको ५ वर्षे कार्यकालमा देखिने नै छ ।
ताँजाकोट गाउँपालिकाले के कस्ता कार्य योजना बनाएको छ?, अहिलेसम्मको प्रगति कत्तिको भयो?, तपाईँको परिकल्पनाको ताँजाकोट गाउँपालिका कस्तो हो?, कसरी कामहरु भईरहेका छन्? यि र यस्तै विषवस्तु समेटेर जनता मिडियाका प्रबन्ध निर्देशक चक्र दानीले गरेको कुराकानीको सम्पादित अंश:
तपाई निर्वाचित भईसकेपछि ताँजाकोट गाउँपालिकामा के विशेष काम भयो ?
अहिले नै ठ्याक्कै यहि नै पायो भन्ने स्थिति त नहोला तर आगामि ५ वर्षसम्म के गर्ने भन्ने विषयमा हामीले योजना बनाईसकेका छौँ । हामीले हाम्रा १८ ओटा सूचकहरुभित्र रहेर समग्र विकासको नेतृत्व गरेर जाने भन्ने विषयसँग सम्बन्धित भएर हामीसँग भएको भएको स्रोत र साधनलाई भरपुर परिचालन गर्ने गर्ने योजना बनाएका छौँ । त्यति मात्र नभएर संघीय सरकार र प्रदेश सरकारबाट परिचालित कार्यक्रमहरुलाई कसरी प्रभावकारी बनाउन सकिन्छ । त्यसको शुक्ष्म अध्ययन गरेर कामकाजलाई व्यवस्थित गरिरहेका छौँ । हामी निर्वाचित भएको ८ महिना भयो । पहिलो कुरा त सुशासन कायम गर्ने हो । सुशासन कायम गर्ने सन्दर्भमा आर्थिक कारोबार चुस्त बनाउनका लागि भुक्तानी लिएको मानिसको सम्पूर्ण विवरण राख्ने प्रणाली विकास गरेँ । अख्तियारमा उजुरी दिनका लागि फोनकै आधारमा गर्न उजुरी दर्ता गर्न सकिने बनाएँ । मेरो कार्यकाल भरि कुनै पनि मुद्धा नपर्ने गरी काम गरिरहेको छु ।
तपाईँ गाउँपालिकाको अध्यक्ष र पार्टीको पनि महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । यो दुईओटा पाटोलाई कसरी लिनुभएको छ ?
म अध्यक्ष भएको पनि पार्टीकै नेतृत्वमा भएको कारणले हो । जनताले विश्वास गरेको पनि यसकै कारणले हो । मेरो व्यक्तिगत हिसाबले म निर्वाचित भएको होईन । मेरो पार्टीको विचार, संगठन, शिद्धान्त सबै कुरालाई मन पराएर मलाई ताँजाकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित गरेका हुन् । यो कुरा मैँले राम्रोसँग मनन गरेको छु । जनताले पार्टीलाई विश्वास गरेका हुन् र पार्टीको नेतृत्वको हिसाबले मलाई विजयी गरेका हुन् । यसकारण पनि पार्टीको र ताँजाकोट गाउँपालिकाको कामलाई एकदमै व्यवस्थित गरेर लैजानुपर्छ भनेर सोचिरहेको छु । यो भन्दै गर्दा जनतामा कुनै पनि खालको निराशा हुने खालको काम गर्ने छैन । मैँले मेरो गाउँपालिकाभित्र सञ्चालन भईरहेका सम्पूर्ण संरचनाको गु्रप बनाएको छु । प्रत्येक दिनको कामको ब्रिफिङ मलाई गर्नुपर्ने हुन्छ । म जहाँ रहेपनि ब्रिफिङ गर्नुपर्ने हुन्छ ।
आउँदै गरेको हिउँदे सभाको लागि ताँजाकोट गाउँपालिकाले कसरी तयारी गरिरहेको छ ?
हिउँदे गाउँ सभा भनेको एउटा प्रक्रिया पुर्याउने हो । त्यसमा विशेषगरी आवश्यक ऐन, नियम र कानुन निर्माण गर्नुपर्ने हो । त्यसकारण पनि हामीले आवश्यक कानुन पास गर्ने तयारी गरिरहेका छौँ । माघको दोस्रो सातातिर हिउँदे अधिवेशन गर्ने तयारी गरिरहेका छौँ । हामीले साउनदेखि मंसिरसम्म चौमासिक गोष्ठि गर्याैँ । गोष्ठीमा प्रत्येक शाखाहरुले आ-आफ्ना प्रगति प्रतिवेदनहरु पेस गरे । थप अन्य विकासका परियोजनालाई व्यवस्थित गरेर लैजान अधिवेशनमा छलफल गर्ने साचिरहेका छौँ ।
तपाईँको परिकल्पनाको ताँजाकोट गाउँपालिका कस्तो हो ?
मेरो परिकल्पनामा ताँजाकोट शिक्षा, स्वास्थ्य र उत्पादनमा सक्षम बन्छ । त्यसैगरि भौतिक पूर्वाधारका क्षेत्रमा पनि हाम्रो प्राथमिकता हुने नै भयो । जनताको आयस्तर वृद्धिको गर्न मेरो पहल अधिकतम् हुनेछ । भौतिक पूर्वाधारका कामहरु त हाम्रो कर्तव्य नै भैहाले । शिक्षा क्षेत्रमा विशेषगरी चार ओटा मात्र कायम गरी व्यवस्थित र गुणस्तरिय शिक्षा दिन काम गर्नेछु । स्वास्थ्य क्षेत्रमा हामीले अहिलेकै अवस्थामा पनि उल्लेख्य प्रगति गरिसकेका छौँ । स्वास्थ्यका सन्दर्भमा हुम्लाकै दोस्रो नम्बरमा हाम्रो गाउँपालिका छ । त्यसलाई व्यवस्थित गर्न प्रदेश सरकारबाट आवश्यक बजेट ल्याउने पक्रिया सुरु भईसकेको छ । अस्पतालका लागि आवश्यक जनशक्ति र औषधी प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने निर्णय भईसकेको छ । उत्पादनको क्षेत्रमा कुनैपनि खेतियोग्य जमिन बाझो नराख्ने गरिकन काम गरिरहेका छौँ । उद्यमीहरुका लागि ७,००,००० (सात लाख) बजेट विनियोजन गरिसकेका छौँ । किसानसँग सरकार साझेदारी कार्यक्रम, जनतासँग सरकार साझेदारी कार्यक्रमको सुरुवात गरिसकेका छौँ । हामीले अनुदानको नाममा भष्ट्राचार गरिरहेको देखेका छौँ । त्यो समस्या आउनै नदिन हाम्रो बलियो कदम हुनेछ । यसका लागि कुनै पनि उद्यमी व्यवसायीले व्यवसाय गर्न चाहेको खण्डमा ५० प्रतिशत अनुदान गाउँपालिकाले दिने र व्यवसाय गर्नैपर्ने निति लिएका छौँ । यसरी अनुदानको नाममा ठगेर खानेलाई कारबाही गर्न हामी पछाडी हट्ने छैनौँ ।
अन्त्यमा ताँजाकोट गाउँपालिका बासिहरुलाई के सन्देश दिनुहुन्छ ?
हामी ताँजाकोट गाउँपालिकाको विकासको निमित्त कुनै पनि कसुर बाँकि नराखि काम गरिरहेका छौँ । केहि समय धैर्य गरिदिनुहोला । हाम्रो कार्यकाल भित्र ताँजाकोट गाउँपालिकामा सुशासन कायम गरी जनताको जीवनस्तर उकास्न हामी कटिबद्ध छौँ । त्यसमा स्थानीय बासिहरुको सहयोगको अपेक्षा भरपुर लिएका छौँ । प्रदेश र संघ सरकारले पनि स्थानीय सरकारको सहभागितामा बजेट निर्माण गर्नुपर्छ भन्ने मेरो धारणा छ ।