१२ पढेका युवकले बनाएको डरलाग्दो ‘एप’, जसले डाउनलोड गर्‍यो उसको पैसा चैट्!

जनता संवाददाता
२०७९ माघ २० गते, शुक्रबार

काठमाडौं । ललितपुरका हरिप्रसाद ढकालको मोबाइलमा एकाएक बैंकबाट अलर्ट म्यासेज आयो, पैसा काटियो भनेर। उनले न कसैलाई चेक दिएका थिए न त आफ्नो मोबाइल नम्बर नै। पुस २५ गते बेलुका ७ बजेतिर,  पुरा म्यासेज पढे उनले – एनआइसी बैंकमा रहेको खाताबाट रकम काटेको थियो।

कुनै त्रुटिले काट्यो होला? कहिले काहीँ मोबाइल बैङ्किङमा प्राविधिक कारणले पनि पैसा काटिने गरेको छ।  फेरि फिर्ता आउला नि! यही आशमा त्यो रात कटाए उनले। तर भोलिपल्टसम्म उनको रकम फिर्ता आएन। बरु उल्टै भोलि पनि त्यसै गरी रकम घटेको म्यासेज आयो। उनको खाताबाट दुई पटकमा चार लाख रुपैयाँ काटिसकेको थियो।

त्यसपछि उनी हतारहतार पुगे जावलाखेलमा रहेको जिल्ला प्रहरी परिसर ललितपुर। ढकालको कुरा सुनेर प्रहरी पनि अचम्ममा परे। त्यसपछि खातामा भएको रकम हिनामिना भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गर्‍यो। अनुसन्धानकै क्रममा प्रहरीले ८ जनालाई पक्राउ गर्‍यो। जसको लहरो हरि ढकालको मोबाइल बैङ्किङबाट घटेको प्रकरणसम्म जोडिएको छ।

परिसरको टोलीले भारतको बिहार प्रदेश घर भएका २९ वर्षीय अवधेश कुमार, सप्तरी कृष्णासवर गाउँपालिका घर भएका दिलीपकुमार चौधरी, पर्सा विन्दवासिनी बस्ने नगेन्द्र साह कानु, रौतहट रङपुर नगरपालिका घर भएका २७ वर्षीया रविना चौधरी, बारा कोलबी नगरपालिका घर भएका सन्तोष कुवँर, पर्सा वीरगन्ज महानगरपालिका घर भएका २८ वर्षीय राजु पटेल, २० वर्षीय साहिल परवेज र दिनेश राउत र शिवशङ्कर राउतलाई नियन्त्रणमा लिएको हो।

प्रहरीको अनुसन्धान उनीहरूले एउटा एप बनाएर अरूको मोबाइलको डाटा ह्याक गरेर रकम झिक्ने गरेको देखिएको छ। उनीहरूले यसरी धेरै मानिसलाई आफ्नो एपमार्फत ठगी गरेको परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए।

१२ पास युवकले बनाएको डर लाग्दो एप

२० वर्षीय साहिल परबेज ‘ नेपाली गर्ल’ नामको एप बनाए। जसमार्फत नै उनले ठगी गर्ने गरेको खुलेको छ। साहिल कक्षा १२ पास युवक हुन्। उनले युट्युब हेरेर नै एप बनाएको एसएसपी शाहको दाबी रहेको छ। जसमार्फत अहिलेसम्म २० जनाको ५० लाख रुपैयाँभन्दा बढी रकम झिकिसकेका छन्।

‘उसले टेक्निकल विषय पढेको देखिँदैन। तर अहिलेसम्म ५० लाख रुपैयाँभन्दा बढी अरूको बैंक खाताबाट रकम झिकेको उजुरी परिसकेको छ,’ एसएसपी शाहले भने। उनले भिपिएन प्रयोग गरेर  ‘रियल नम्बर’ एपबाट मानिसको ह्वाटसेप नम्बर पत्ता लगाउँछन्। त्यसपछि पत्ता लागेको नम्बर अन्य साथीहरूलाई फर्वाड गरेर उनीहरूले ह्वाटसेपमा ‘नेपाली गर्ल’ डाउनलोड हुने लिङ्क सहितको म्यासेज पठाउँछन्। त्यहाँ ‘तपाइ सेक्स पार्टनर खोजी रहनु भएको छ? भन्ने लेखिएको हुन्छ। अब ढुक्क भएर ‘नेपाली गर्ल’ एप डाउनलोड गरेर सेक्स पार्टनर पाउनु हुन्छ भन्ने लेखिएको छ। जसले यस एपलाई डाउनलोड गर्छ उसको मोबाइलमा भएको सबै डाटा ह्याक हुन्छ।

‘डाउनलोड गरेपछि मोबाइलको सबै जानकारी उनीहरूले पाउँछन्। त्यसपछि उनीहरूको अपराधको धन्दा सुरु हुन्छ,’ एसएसपी शाहले भने।

त्यसपछि मोबाइलमा कुनै पनि मोबाइल बैङ्किङ, विभिन्न वालेटहरू भएको खण्डमा त्यहाँबाट उनीहरूले रकम झिक्ने गर्छन्। त्यहाँबाट उनीहरूले अरूको खातामा रकम ट्रान्सफर गर्ने गरेको देखिएको छ। रकम झिक्न अरूलाई केही रकम दिएर खाता प्रयोग गर्ने, वा मोबाइलमा नै नागरिकताको लिपि भएको खण्डमा खाता खोलेर त्यहीबाट पनि रकम झिक्ने गरेको देखिएको छ।

यसरी ठगिनेहरूमा युवा पुस्ताहरू नै धेरै देखिएको छ। अहिलेसम्म ललितपुर परिसरबाहेक साइबर ब्युरोमा २० वटा र उपत्यका अपराध अनुसन्धान कार्यालयमा ७ वटा उजुरी परिसकेको छ। यसरी हेर्दा ५० लाख रुपैयाँभन्दा बढी ठगिएको छ।

‘अहिलेसम्म २० वटा उजुरी भए पनि अझै बढ्ने आशा छ। कतिले यस्तो एप हेर्न भन्ने धक लागेर पनि उजुरी दिन नआउनु भएको जस्तो लाग्छ,’ एसएसपी शाहले भने। उनीहरुले रकममात्र होइन मोबाइलमा भएका अन्य महत्वपूर्ण डकुमेन्टहरुसमेत चोरी गरेको हुनसक्ने प्रहरीको आशंका रहेको छ।

प्रहरीले पक्राउ परेकाविरुद्ध उच्च अदालत पाटनबाट बैंकिङ कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०७९ माघ २० गते, शुक्रबार


Scroll to Top

Janata Media