गृहमन्त्री छाडेर प्रधानमन्त्रीका लागि प्रचण्डसँग बार्गेनिङ गर्दै रवि लामिछाने

जनता संवाददाता
२०८० बैशाख २१ गते, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अब सत्ता गठबन्धनमा गृहमन्त्री होइन्, प्रधानमन्त्रीका लागि लबिङ गर्न थालेका छन् । त्यसका लागि उनले सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेसँग संवाद थालेका छन् ।

चितवन २ बाट उपनिर्वाचन जितेर आएपछि भएका राजनीति भेटघाटमा उनले प्रष्टैसँग प्रधानमन्त्रीमा दाबी गर्न थालेका छन् । संसद्को चौथो ठूलो दल र सत्ता गठबन्धनमा रहे तेस्रो ठूलो दलको हैसियतले आलोपालो प्रधानमन्त्रीमा आफ्नो पनि दाबी रहेको सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको बालुवाटार स्रोत बताउँछ ।

प्रधानमन्त्रीसँगको भेटमा लामिछानेले अहिलेसम्म विश्वासको मत फिर्ता नलिएकाले आफूलाई गठबन्धन दलमा तेस्रो दलको हैसियतले भूमिका दिनुपर्ने माग गरेका छन् । ‘सत्ता गठबन्धनमै रहन त्यही अनुसारको भूमिका पनि दिनुपर्छु उनको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, तीन पार्टीले आलोपालो प्रधानमन्त्री चलाउँदा २१ सिटको रास्वपाले पनि पाउनुपर्छ ।’

लामिछाने नेतृत्वको रास्वपा गत ४ मंसिरमा भएको निर्वाचनमा ७ प्रत्यक्षसहित २० सिट जितेर संसदमा चौथो ठूलो दल बनेको थियो । वैशाखमा भएको उपनिर्वाचनमा अर्को एक सिट थपेपछि सो पार्टीको बार्गेनिङ पावर पनि बढेको छ । १० पुसमा बालकोटमा बनेको सत्ता गठबन्धनमा रास्वपाले उपप्रधानमन्त्री तथा गृहमन्त्रीसहित तीन मन्त्री पाएको थियो । तर लामिछाने नागरिकता काण्डमा दोषी ठहर भएपछि उनले सांसद, गृहमन्त्री र पार्टी सभापतिको पद एकै दिन गुमाएका थिए ।

उपनिर्वाचनमा अघिल्लोपटकभन्दा धेरै मतले विजयी हुनेबित्तिकै रास्वपाले अहिलेकै स्थितिमा सरकारलाई विश्वासको मत कायम नगर्ने संकेत देखाएको छ । २२ वैशाखको बैठकले त्यसबारे निर्णय गर्ने भनिरहेका बेला सभापति लामिछानेले प्रधानमन्त्रीको कार्ड फ्याँकेका हुन् ।

सत्तारूढ गठबन्धनमा प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच २र२ वर्ष र बीचमा एक वर्ष नेकपा एसका अध्यक्ष माधव नेपालले सरकारको नेतृत्व गर्ने समझदारी बनेको छ । १० सिट रहेको एसभन्दा २१ सिटको आफ्नो पार्टीको दाबी स्वाभाविक हुने तर्क लामिछानेले राखेका छन् ।

उनी अहिले प्रधानमन्त्रीका लागि बार्गेनिङमा रहेको सत्तारूढ नेताहरूको दाबी छ । एमालेले जसरी भए पनि अहिलेको सत्ता गठबन्धन भत्काउन चाहन्छ । त्यसैले सके आफू नभए अर्को ठूलो दललाई प्रधानमन्त्री बनाउने रणनीतिमा एमाले छ । कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने योजना सफल नभएमा संसदको चौथो ठूलो दल रास्वपालाई अघि सारेर भए पनि सत्ता हल्लाउने उसको रणनीति देखिन्छ ।

अध्यक्ष केपी ओलीले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको चर्चा राजनीतिक वृत्तमा छ । भलै, रास्वपा प्रवक्ता मुकुल ढकालले यसको खण्डन गरेका छन् । ‘हामीले यो बारेमा सोचेका पनि छैनौँ । एमालेले पनि हामीसँग यो विषयमा कुनै छलफल गरेको छैन । यदि त्यस्तो परिस्थिति आएमा त्यतिबेलै छलफल हुनसक्छु उनी भन्छन्, ुअहिले न त सत्ता गठबन्धनमा न त प्रतिपक्षसँग नै प्रधानमन्त्री बन्ने कुरा सभापति ज्युले गर्नु भएको छ । यो राजनीतिमा आएको बजार हल्ला मात्र हो ।’

तर, प्रचण्डलाई जसरी पनि प्रधानमन्त्रीबाट हटाउन लागेको एमालेले रविलाई प्रधानमन्त्रीको अफर गर्नु कुनै अनौठो कुरा नहुने राजनीति विश्लेषक पुरन्जन आचार्य बताउँछन् । उनले भने, ‘जसरी एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भयो, त्यहि तरिकाले रविलाई बनाउन पनि तयार हुनु स्वाभाविक हो । आफू ब्याक बसेर रास्वपा र जसपालाई मिलाउन सकिन्छ कि भनेर तयारी गरेको हुनसक्छ ।’

रविले प्रधानमन्त्री प्रचण्डसँग आफू यहि गठबन्धनमा बस्दा पछि आफूले के पाउने भन्ने खालको जिज्ञासा राख्नुले उनले दुवैतिर चाल चलेको देखिन्छ । बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीसँग भएको भेटमा संसदको चौथो ठूलो दल र गठबन्धनको तेस्रो ठूलो दल भएकाले आफूले पनि सरकारको नेतृत्व गर्न पाउने गरी भागवण्डा हुनुपर्ने आशयको कुरा राख्नु भएको हो । त्यसबाहेक धेरै कुरा अगाडि बढेको छैन ।’

१० पुसमा भत्किएको कांग्रेस छाताको चुनावी गठबन्धन १२ फागुनमा ब्युँतियो । त्यसमा जसपा पनि थपियो । रास्वपा सरकारबाट माघमा नै बाहिरिएको थियो । तर सरकारलाई दिएको विश्वास भने फिर्ता लिएको छैन । जसका कारण रास्वपाले अहिले पनि आफ्ना सर्त कार्यान्वयन गराएर सरकारमा जाने बाटो खुलै राखेको छ ।

रास्वपाले पहिलोपटक सरकारमा सहभागी हुँदा गृह मन्त्रालय ,शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री पाएको थियो । नागरिकता प्रकरणमा रविले गृहमन्त्री गुमाएपछि प्रधानमन्त्री प्रचण्डले पूर्णपाठ नआएसम्म गृह नदिने अडान लिएपछि उसले सरकार छोडेको थियो ।

लामिछानेले प्रधानमन्त्रीमा दाबी गरिरहेका बेला सत्ता गठबन्धन दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा माओवादीले महत्व नदिएको गुनासो सार्वजनिक रूपमा गरेका छन् । उनले बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पत्रकार सम्मेलनमा गठबन्धनभित्र आफूहरूलाई महत्व नदिएको गुनासो गरेका छन् ।

गठबन्धनले आफूहरूलाई ‘बाइपास’ गरेर पीडा दिइरहेको गुनासो गरेका छन् । गठबन्धनभित्र आफ्नो दल उपेक्षामा परेको, कर्णालीमा पूरै बेवास्ता गरिएको र सरकारमा एकलौटी गर्न खोजिएको उल्लेख गर्दै नेपालले भने, ‘गठबन्धन टिकाउने कुरा भइरहेको छ तर हामीलाई बाइपास गरिएको छ, पीडा दिइएको छ । यस्तै हो भने गठबन्धन धरापमा पर्नसक्छ ।’ रवि गठबन्धनमै रहे रास्वपाभन्दा पछाडि पर्नसक्ने देखेरै उनको यस्तो टिप्पणी आएको आशंका गरिएको छ । लडाकुलाई २ लाख दिने सरकारको निर्णयलाई पनि उनले गलत भनेका छन् । उनको यो असन्तुष्टिले पनि सत्ता गठबन्धनमा केही खिचडी पाकिरहेको संकेत गर्दछ ।

रास्वपा तत्काल सरकारबाट बाहिरिनेभन्दा पनि गठबन्धनमा भएको भागवण्डा नयाँ तरिकाले गराउन चाहेको हुनसक्ने राजनीतिक विश्लेषक पुरन्जन आचार्य बताउछन् । उनले भने, ‘अहिले सबैभन्दा बढी बाग्रेनिङ प्वाइन्टमा रवि छन् । उनी अहिले पुसमा प्रचण्ड बाग्रेनिङ प्वाइन्टमा भए जस्तै छन् । उनले उपप्रधानमन्त्री खाइसके । अब एमालेले १३८ जना बनाउन सकेमा पनि रवि प्रधानमन्त्री हुन सक्छन् । होइन भने गठबन्धनमा पनि उनले बाग्रेनिङ गर्न सक्छन् । रवि प्रधानमन्त्री भएमा आचार्य मान्नु पर्दैन ।’ शिलापत्र

प्रकाशित मिति : २०८० बैशाख २१ गते, बिहीबार