उपचारमै सम्पत्ति सकिएपछि अर्धचेत बिरामी बोकेर जिल्ला प्रशासनमा

जिप दुर्घटनापछि घाइते कमलालाई उपचारका लागि श्रीमान राजेश पुनले नेपालगन्ज र भारतको लखनउसम्म पुर्‍याए । २१ लाखभन्दा बढी ऋण लाग्यो तर गाडी मालिक, यातायात समिति र बिमाबाट एक रुपैयाँ पनि खर्च पाएनन् । उनै पीडित अहिले जिल्ला प्रशासन समक्ष याचना गरिरहेका छन् ।

जनता संवाददाता
२०८० जेष्ठ १३ गते, शनिबार

सल्यान — कुमाख गाउँपालिका ७ जिमालीका राजेश पुन घाइते श्रीमति सुनिता बोहरालाई बोकेर हालै जिल्ला प्रशासन कार्यालय सल्यान पुगे । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेर भावुक हुँदै उनले आफ्नो समस्या दर्शाए ।

जिप दुर्घटनामा परी सख्त घाइते भएकी सुनितालाई उपचार गराउन नसकेपछि सहयोगको याचना गर्दै पुन जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।

गत असोज १५ गते कुमाख गाउँपालिकाको जिमालीदेखि खैराबाङ जाँदै गरेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । १७ जना घाइते भएका थिए । तिनै घाइतेमध्येकी एक हुन् सुनिता बोहरा । टाउकोमा गहिरो चोट लागेर सुनिता सख्त घाइते भएकी थिइन् ।

दुर्घटनापछि सुनितालाई सुरुमा जिल्ला अस्पताल ल्याइएको थियो । जहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगन्ज लगियो । त्यहाँबाट भारतको लखनउ लगियो । लखनउमा करिव तीन महिना उपचार गरिए पनि होस् खुलेन । तीन महिना लखनउमा बस्दा आफूसँग भएको सबै पैसा सकिएपछि राजेशले आफन्त र छिमेकी गुहारे । उपचारका लागि ऋण लिएको १९ लाखभन्दा बढी खर्च भएको राजेश बताउँछन् ।

थप उपचारका लागि पैसा जुटाउन नसकेपछि अर्धचेत अवस्थामा रहेकी श्रीमतिलाई राजेशले घर ल्याए । एक महिनापछि सुनिताको समस्या थप बल्झियो । फेरि ऋण काढेर गत पुसको अन्त्यतिर कमलालाई लिएर उनी नेपालगन्जस्थित न्यूरो स्पेसियालिटी ट्रमा सेन्टरमा पुगे । त्यहाँ एक महिना उपचार गर्दा थप २ लाख ऋण लाग्यो । तैपनि सुधार आएन ।

चौबिसै घन्टा अस्पतालको रेखदेखमा राख्नु पर्ने बिरामीलाई आर्थिक अभावकै कारण फेरि घर फर्काउन बाध्य भए राजेश । सुनिता यताउति गर्न सक्दिनन् । अरुको सहयोग चाहिन्छ । दिसापिसाब ओछ्यानमै हुन्छ । उनको शरीरमा अहिले नयाँ घाउ देखिन थालेको राजेश बताउँछन् ।

शरीरमा घाउ आउन थालेपछि डेढ महिनादेखि जिल्ला अस्पताल सल्यानमा ल्याएर राखेको छु । जिल्ला अस्पतालमा सामान्य भन्दा अन्य उपचार सम्भव छैन । डाक्टरले बाहिर लैजान सुझाव दिएका छन् । उपचारका क्रममा भएको सबै सम्पत्ति सकिएपछि सुनितालाई बाहिर लैजान सकेको छैन । दुर्घटना भएको जिपका साहु र यातायात समितिले अहिलेसम्म उपचारको लागि एक रुपैयाँ पनि दिएका छैनन्,’ राजेशले भने ।

सबै सम्पत्ति उपचारमै सकिएपछि आर्थिक अवस्था कमजोर भएका राजेश यतिबेला जिल्ला प्रशासनको शरणमा पुग्न बाध्य भएका छन् । र प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल समक्ष सहयोगको याचना गरेका गरिरहेका छन् ।

‘नमस्ते नेपाल यातायात समिति सल्यान र गाडी साहुले उपचार खर्च दिन नमानेपछि मलाई न्याय पनि चाहिएको छ । अब मलाई श्रीमतिको उपचार र न्याय चाहिएको छ, प्रशासन कार्यालयमा रहेका राजेशले भने ।

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले भने सुनिताको अवस्था देखेपछि जिल्ला अस्पताल सल्यानका डाक्टरसँग सोधपुछ गरेका थिए । डाक्टरले जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएको र उपचारका लागि काठमाडौंमा लैजान सुझाव दिएको बताएका छन् । प्रजिअ खरेलले सुनिताको उपचारका लागि काठमाडौं पठाउन र खर्चको व्यवस्थापन गर्न विभिन्न निकायलाई आह्वान गर्ने बताएका छन् ।

‘गम्भीर घाइतेलाई तत्काल उपचारको लागि काठमाडौं लैजाने व्यवस्था मिलाउँछु,’ प्रजिअ खरेलले भने, ‘आर्थिक जोहोका लागि सबैसँग समन्वय गर्छु ।’ साथै घाइतेको उपचार गर्नबाट पन्छिरहेको यातायात समिति र बिमा कम्पनीसँग बसेर समस्या समाधान गर्ने पनि उनको भनाइ छ ।

जिल्ला अस्पताल सल्यानका डा। जितेन्द्र भण्डारीका अनुसार सुनिताको मस्तिष्कमा समस्या देखिएको छ । उनलाई विशेषज्ञसहितको उपचार आवश्यक रहेको उनले बताएका छन् । ‘पहिला जस्तै बोल्न र हिँड्न सक्ने बनाउन सर्जन र फिजियोथेरापीको आवश्यक देखिन्छ,’ डा। भण्डारीले भने

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते, शनिबार


Scroll to Top

Janata Media