सन्दीपविरूद्धको मुद्दाको पेशी नै चढ्न छाड्यो, अदालत भन्छ : न्यायाधीश अभाव

जनता संवाददाता
२०८० आश्विन ७ गते, आईतवार

काठमाडौं । नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने विरुद्धको सुनुवाइ आज पनि नहुने भएको छ । काठमाडौं जिल्ला अदालतमा आज पनि सन्दीपविरूद्धको मुद्दा पेशी नै नचढेपछि आज पनि सुनुवाइ नहुने भएको हो ।

यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरीको जन्म मिति यकिन गर्ने थप कागजात पेश गर्न आदेश दिएको थियो । सो कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिए पनि मुद्दा पेशी नचढी स्थगित भएको थियो । त्यसयता सुनुवाइका लागि मुद्दाको पेशी नै चढ्न सकेको छैन ।

जिल्ला अदालत काठमाडौँले गोला प्रथाबाट इजलास तोकिँदा न्यायाधीश अभावका कारण सन्दीपविरूद्धको मुद्दाको पेशी नपरेपछि मुद्दाको सुनुवाइ स्थगित हुँदै आएको जनाएको छ ।

सर्वोच्च अदालतले सन्दीपविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशीघ्र टुङ्गो लगाउन भने पनि काठमाडौं अदालतले मुद्दालाई चाँडो टुङ्गो लगाउने गरी अघि बढाउन सकेको छैन ।

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका सन्दीपविरूद्ध २०७९ भदौ २१ गते जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी परेको थियो । नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेपछि सन्दीप असोज २० गते नेपाल फर्कँदै गर्दा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दा २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको थियो । काठमाडौं जिल्ला अदालतले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएपछि उच्चले पुस १८ गते सन्दीपलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । उच्चको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीपसमेत सर्वोच्च गएका थिए ।

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदन एकसाथ सुनुवाइ गर्दै सर्वोच्च अदालतले फागुन १५ गते उच्च अदालत पाटनको आदेश उल्ट्याई दिएको थियो ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश जाने अनुमति दिनुका साथै सन्दीपविरुद्धको बलात्कार मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउन आदेश दिएको थियो ।

प्रकाशित मिति : २०८० आश्विन ७ गते, आईतवार


Scroll to Top

Janata Media