केहि महिना रोकिएको अदानचुलीको 4G टावर निर्माणको काम अघि बढाईँदै(भिडियोसहित)

जनता संवाददाता
२०८० कार्तिक १६ गते, बिहीबार

काठमाडौँ । केहि महिना रोकिएको हुम्लाको अदानचुली गाउँपालिका च्याममा बन्दै गरेको बाँकि 4G टावर निर्माणको काम अघि बढाईने भएको छ । ठेकेदारको लापरबाहीका कारण रोकिएको टेलिकमको 4G टावर गाउँपालिकासँग सम्झौता गरे बमोजिम मंसिर १ गते टावर निर्माणका लागि प्राविधिक सहितको टोलि काठमाडौँबाट हिड्ने सहमति भएको हो ।

अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, नेपाल टेलिकमका प्रबन्धक प्रेम सिलवाल, उपप्रबन्धक प्रेम बहादुर क्षेत्री, ठेकेदार तर्फका सरोज सिलवाल र अन्य सम्बन्धित व्यक्ति सहभागि रहेको छलफलमा उक्त सहमति भएको हो ।

छलफलमा गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले दैनिक कामकाजका लागि इन्टरनेटको आवश्यक अपरिहार्य रहेको र कामकाज चलाउनकै लागि इन्टरनेट चलाउन वल्ड लिङ्कलाई वार्षिक २३/२४ लाख तिर्नुपरेको कारणले गर्दा रकम जोगाउन र खर्च व्यवस्थित गरि अन्यत्र लगानी गर्न टावर आवश्यक रहेको बताए ।

‘निर्माणका लागि जतिसक्दो छिटो काम सूचारु गर्न आग्रह गरे । जनताले हामीलाई टावरको काम कहाँसम्म पुग्यो भनेर प्रश्न गरेको गरै छन् । हामी नाजवाफ भएर बसेका छौँ । यता टेलिकमको हालत यस्तै छ । जतिसक्दो निर्माणको काम छिटो गर्नुपर्यो । बरु, गाउँपालिकाको तर्फबाट के गर्नुपर्छ?.. म तयार छु । काम छिटो अगाडी बढाउनुपर्यो ।’ उनले भने ।

यो सँगै मंसिर १ गते प्राविधिक सहितको टोलि काठमाडौँबाट हिड्ने मोटामोटी सहमति भएको छ । लगभग 4G टावर निर्माणको काम वैशाखसम्म सकिने आकलन गरिएको छ ।

भिडियो हेर्नुहोस्:

प्रकाशित मिति : २०८० कार्तिक १६ गते, बिहीबार


Scroll to Top

Janata Media