टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन सुरु

जनता संवाददाता
२०८० माघ १३ गते, शनिबार

म्याग्दी । गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जोड्ने टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुुगङ्गा गाउँपालिकासँगको समन्वयमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा शनिबारदेखि पदमार्गको खोज, अनुुसन्धान तथा प्रवद्र्धन कार्यक्रम सुुरु भएको हो ।

म्याग्दीको रघुुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्केमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्र थापा र सचिव कुुमानसिंह गुुरुङले अध्ययन टोलीलाई बिदाइ गरे । पर्यटन व्यवसायी, मन्त्रालयका कर्मचारी, प्राविधिक र पत्रकारको २० जनाको अध्ययन टोली शुुक्रबार साँझ पोखरादेखि बेनी हुँदै टोड्के पुुगेको थियो ।

टोड्केदेखि मालिका धुुरी-ठाडाखानी-कुुइने-चौरखानी-घ्यासीखर्क-सुगुरथला, कछुुवा ओडार(धौलागिरि आधार शिविर-कालीबराह हुँदै मुुस्ताङको लेते जोड्ने पदमार्गको अध्ययन गर्ने टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए । “गण्डकी प्रदेशमा आउने पर्यटकका लागि नयाँ गन्तव्यको विकास तथा उनीहरुको बसाइ लम्ब्याउने उद्देश्यले पदमार्गको खोजी र अध्ययनमा आएका हौँ”, उनले भने, “धौलागिरि हिमालको फेदीमा रहेको नेपालका अल्पसङ्ख्यक छन्त्याल र आदिवासी जनजाति मगर समुुदायको बसोबास रहेको ठाडाखानी, कुुइनेमङ्गले बस्ती समेटिएको यो पदमार्गलाई धौलागिरि पानोरमा टे«क नामकरण गरेका छौँ ।”

धवलागिरि हिमशृङ्खला र आधार शिविरका साथै मगर, छन्त्याल संस्कृति, वनजङ्गल, ग्रामीण जीवनशैली, वन्यजन्तु, वनस्पति, पक्षी, ताल, झरना, धार्मिकस्थल आकर्षणका रुपमा रहेको यो पदमार्ग सात दिनमा पूरा गर्न सकिनेछ । क्याम्पिङ पदयात्राका लागि उपयुुक्त मानिएको छ । यसअघि पहिचान भएको धौलागिरि सेञ्चुुरी र आइसफल पदमार्गमा छरिएर रहेका बस्तीलाई जोड्न पानोरमा पदमार्गको अवधारणा अघि सारिएको हो ।

टोड्केदेखि मालिका धुरी ठाडाखानी कुुइने हुुँदै घ्यासीखर्क पुुगेपछि पानोरमा पदमार्ग धौलागिरि सेञ्चुुरी र आइसफलमा जोडिनेछ । मन्त्री थापाले धवलागिरि हिमाललाई आधार मानेर पर्यटकीय पदमार्गको पहिचान, पूूर्वाधार निर्माण र प्रवद्र्धनमा प्राथमिकता दिएको बताए । मन्त्रालयका सचिव गुुरुङले पर्यटकको बसाइ लम्ब्याउनका लागि नयाँ गन्तव्यको पहिचानमा जोड दिएको बताए । उनले पोखराको फेवाताल पारीको रानीवनमा राउन्ड फेवा, भ्युु फेवा पदमार्ग निर्माण गर्न लागिएको पनि बताए ।रासस

प्रकाशित मिति : २०८० माघ १३ गते, शनिबार


Scroll to Top

Janata Media