
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा समूहगत छलफलका लागि पाँच वटा प्रतिवेदन प्रस्तुत गरिएका छन् । ललितपुरको गोदावरीमा जारी बैठकको दोस्रो दिन मङ्गलबार नीति प्रस्ताव, साङ्गठनिक प्रस्ताव, समसामयिक राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिएको हो ।
उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको नीति प्रस्ताव प्रस्तुत गरे । महामन्त्री गगनकुमार थापाले साङ्गठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन पेस गरे। प्रवक्ता डा। प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरे । मङ्गलबार प्रस्तुत प्रतिवेदनमाथि बुधबारदेखि समूहगत छलफल हुने छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले युगान्तकारी राजनीतिक परिवर्तनपछि यसलाई संस्थागत गर्ने चरणमा देश रहेको बताए । उनले भने “नेपाली कांग्रेसले निर्वाह गरेको नेतृत्वदायी भूमिकाका कारण राजनीतिक परिवर्तनले लक्ष्य प्राप्त गरेको छ । यसलाई संस्थागत गर्दै नागरिकको आवश्यकता, चाहना तथा अपेक्षालाई छिटोभन्दा छिटो पूरा गर्न द्रुत गतिमा काम गर्नुपर्ने छ ।”
उनले देश, शासन व्यवस्था, लोकतन्त्र, सङ्घीयता, समावेशीकरण र खुला बजार अर्थ व्यवस्थाप्रति नागरिकको आकर्षण र विश्वास बढाउँदै देशको समुन्नतिको चाहनालाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उनले भने, “यसका लागि नेपाली कांग्रेसले तय गर्ने नीतिले समग्र देश र शासन व्यवस्थालाई प्रत्यक्ष प्रभाव पार्ने छ ।”
उनले लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुरूप प्राप्त उपलब्धिको संरक्षण, संवर्धन र नवीन अवसरको उपयोग गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको सामना गर्न सक्ने दूरदृष्टि, आँट र सङ्कल्पका साथ भावी नीति, कार्यनीति र रणनीति तयार गर्ने उद्घोष गरे ।
राजनीतिक नीतिको सवाल
उपसभापति खड्काले ९७ पृष्ठको प्रस्तावमा नेपाली कांग्रेसलाई थप जिम्मेवार बनाएर समुन्नत देश निर्माणको अभिभारा पूरा गर्नुपर्ने बताए। उनले कांग्रेसले द्वन्द्वको चपेटा र त्यसपछिका अविश्वास र संशयबिच पनि शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएर सहज रूपमा सत्ता हस्तान्तरण गरेको स्मरण गरे । उनले भने “यो अभ्यास लोकतान्त्रिक विश्वका लागि नमुनायोग्य सफल उदाहरण पनि हो । यसमा नेपाली कांग्रेसको सन्तुलित, समन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व, भूमिका, विचार र नीति निर्णायक रहेको छ ।”
उनले बहुलवादमा आधारित बहुदलीय संसदीय व्यवस्था, आवधिक निर्वाचन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, सूचनाको हक, स्वतन्त्र न्यायपालिका, विधिको शासन तथा निजी सम्पत्तिको संरक्षणको सवालमा नेपाली कांग्रेसले कहिल्यै कसैसँग कुनै पनि सम्झौता नगर्ने प्रस्ट पारे ।
उनले कांग्रेसले चाहेकै जस्तो संविधान बन्ने अवस्था नभए पनि २०७२ सालमा कांग्रेसकै सुझबुझपूर्ण कार्यशैलीले गर्दा लोकतान्त्रिक समाजवादी संविधान निर्माण भएको बताए।
उनले राजनीतिक स्थायित्व, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आर्थिक वृद्धि तथा उन्नतिका पक्षमा भरपर्दो र दिगो काम द्रुत गतिमा अगाडि बढ्न नसक्दा सङ्क्रमणकालीन अवस्था लम्बिइरहेको बताए । उपसभापति खड्काले संविधानको कार्यान्वयनका सन्दर्भमा आधारभूत रचनामा प्रतिकूल असर नपर्ने गरी आवश्यकता अनुसार संविधान संशोधनप्रति नेपाली कांग्रेस खुला रहेको प्रस्ट पारे । उनले भने, “संविधान लागु भएयताका हाम्रा आफ्नै अनुभव तथा पार्टी पङ्क्तिबाट आएका सुझावसमेतका आधारमा संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेस आफैँले लिने छ ।”
उनले सुशासन र भ्रष्टाचार नियन्त्रण आमनागरिकको चासो र सरोकारको विषय भएको बताउँदै असमानता बढाउने प्रमुख कारक भनेको कुशासन र भ्रष्टाचार नै भएको निष्कर्ष प्रस्तुत गरे । उनले यी आदर्श राज्य संयन्त्रसँग जोडिनका लागि कठोर नीति र असल नियत आवश्यक हुने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट व्यक्त गरे।
उहाँले न्यायालय लोकतान्त्रिक सुशासनको अभिन्न अङ्ग भएको बताउँदै विधिको शासनका लागि न्यायालयले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै न्यायिक स्वतन्त्रता र संवैधानिक सर्वोच्चताप्रति कांग्रेस प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
कांग्रेस रूपान्तरणका सवाल
महामन्त्री गगन थापाले महासमिति बैठकले कांग्रेसकै नेतृत्वमा मुलुक समुन्नतिको दिशामा अगाडि बढ्छ भन्ने आशा र विश्वासको उत्साहजनक सन्देश जनतालाई दिनुपर्ने बताउनुभयो । उहाँले पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास रहेको र नेतृत्व छनोट प्रक्रियामा सहभागिता र निर्णय प्रक्रियामा सहभागिता, पार्टीभित्र चित्त नबुझेको कुरा भन्ने र फरक मत राख्ने खुला वातावरण प्रस्ट पार्नुभयो ।
असंवैधानिक कदमविरुद्ध गठबन्धन
महामन्त्री थापाले तत्कालीन सरकारले पटक पटक असंवैधानिक ढङ्गले प्रतिनिधि सभा विघटन गरेपछि एउटा विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँचदलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नु परेको बताउनुभयो । उहाँले त्यसकै निरन्तरतास्वरूप पार्टीले लोकतन्त्र र संविधानको रक्षार्थ र स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा अङ्कगणितका हिसाबले कांग्रेस ठुलो पार्टी त बन्यो तर यो अनुभवले हामीलाई सिकाएको छ– निर्वाचनपूर्व गठबन्धन गर्दा पार्टीले एक्लै चुनाव लड्दा जस्तो कार्यकर्तामा विजयको भाव र उत्साह नआउने रहेछ ।”
उहाँले पार्टीको आफ्नो उम्मेदवार नहुँदा सङ्गठनभित्र आकाङ्क्षीको व्यवस्थापन त कठिन भयो नै पार्टीभित्रको ऊर्जामा समेत गिरावट आएको दाबी गर्नुभयो । उहाँले निर्वाचनमा सङ्ख्यात्मक रूपमा पार्टी पहिलो दल भए पनि लोकप्रिय मत घट्ने अवस्था भएको र गुमेको मतलाई पार्टीमा पुनः जोड्दै नयाँ मतदातालाई आकर्षित गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।
उहाँले पार्टीमा एकै प्रकारको सदस्यताको व्यवस्था गर्ने र सदस्यता प्राप्ति प्रक्रिया थप सहज र फराकिलो बनाउने बताउनुभयो । उहाँले नेतृत्व चयन प्रक्रिया, समावेशी पद्धति, कार्यसमितिको संरचनागत व्यवस्था, उम्मेदवार छनोट प्रक्रिया आदिलाई व्यवस्थित बनाउने प्रस्ताव गर्नुभएको छ ।
उनले कांग्रेस पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताउँदै सामाजिक आन्दोलनसँग जोड्नकै लागि प्रस्ताव ल्याएको बताउनुभयो । उहाँले आगामी आवधिक निर्वाचनमा पार्टी एक्लै चुनाव लड्न सक्ने गरी सङ्गठन निर्माणमा जुट्ने उद्घोष गरे ।
समसामयिक राजनीतिक प्रस्ताव
अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै महासमिति बैठकले कांग्रेसलाई नवीन रूपान्तरणको दिशातर्फ अग्रसर गराउने बताउनुभयो । उनले गौरवमय इतिहास, जिम्मेवार वर्तमानको कर्तव्यलाई सूक्ष्म विश्लेषणका साथ परिस्कृत र परिपक्व बनाउँदै देश र कांग्रेस दुवैको उज्यालो भविष्यका लागि सङ्गठनलाई समयानुकूल बदल्नुपर्ने बताए ।
उनले लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएकाले, समुन्नत लोकतन्त्रका लागि लोकतान्त्रिक संस्कृति निर्माण गर्नुपर्ने, गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएकोसहित सरकारमा सहभागितालाई उपलब्धि, चुनौती र अपेक्षा शीर्षकमा समसामयिक राजनीतिक विश्लेषण गर्नुभएको छ । उहाँले शासकीय कमजोरीका कारण नागरिकमा रहेको कतिपय असन्तोषको भावनामा खेलेर नागरिककै हक अधिकार हनन गर्ने, कुनै पनि प्रकृतिको निरङ्कुश प्रणालीतर्फ फर्किएर २१ औँ शताब्दीको नेपाल फेरि मध्ययुगीन बन्द समाजतर्फ जान नसक्ने प्रस्ट पार ।
उनले वर्तमान सरकारमार्फत संविधान रक्षाको साझा कार्यभार सम्पादन भएको र भ्रष्टाचार नियन्त्रण गर्न केही पहलकदमी अनि सुशासनको दिशामा केही प्रयास भएको बताए ।
अर्थतन्त्रमा सुधारका सङ्केत
अर्थमन्त्री एवं कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन पेस गर्दै वर्तमान गठबन्धन सरकारले विश्वव्यापी रूपमा परेको आर्थिक मन्दीलाई क्रमशः सन्तुलनमा ल्याएको बताउनुभयो । उनले भ, “आर्थिक वृद्धि र न्यायोचित वितरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने नीतिको पक्षमा कांग्रेस अडिग छ ।”
उनले अर्थतन्त्रलाई अझै गतिशील बनाउन प्रयास भइरहेको बताए । उनले अर्थतन्त्रमा चुनौती कायमै रहेको र समिष्टिगत आर्थिक परिसूचकमा क्रमशः सुधार आएको बताउनुभयो । उनले अर्थतन्त्रमा देखिएको चुनौतीबारे तथ्यगत धारणा राख्दै २०७७ असार मसान्तमा बैङ्क तथा वित्तीय प्रणालीमा तीन हजार २१० अर्बबाट वृद्धि भएको बताए । उनले कर्जा प्रवाह २०७९ असार मसान्तसम्म चार हजार ६२१ अर्ब पुगेको बताए । लेखा समिति संयोजक श्यामकुमार घिमिरेले कांग्रेसको मुख्य आम्दानी सदस्यता लेभी, नवीकरण शुल्क नै रहेको बताए। उहाँले कांग्रेसले निर्वाचन, अधिवेशन, कार्यालय सञ्चालन, भ्रातृ सङ्गठन, ह्रास तथा अपलेखनमा खर्च गर्ने गरेको पनि जानकारी दिए ।