तीन रोपनी क्षेत्रमा अफिम खेती गर्ने एक पक्राउ

जनता संवाददाता
२०८० चैत्र १३ गते, मंगलवार

काठमाडौँ । तीन रोपनी क्षेत्रफलमा लागू औषध (अफिम) को खेती गरेको आरोपमा प्रहरी एक युवकलाई नियन्त्रणमा लिएको छ।

लमजुङको मध्यनेपाल नगरपालिका वडा नं.३ सुर्यपालमा अवैध अफिम खेती गरेको आरोपमा प्रहरीले मकवानपुर राक्सिराङ्ग गाउँपालिका वडा नं.८ घर भएका २६ वर्षीय हिमाल लामा थिङलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईका अनुसार सुर्यपालका स्थानीय विष्णु सुवेदीको खेतबारी रेखदेख गरी विगत १ वर्षदेखि बस्दै आए‌का उनले अवैध अफिम खेती गरेको भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो।

सोही सूचनाका आधारमा प्रहरी टोली पुग्दा थिङले अन्दाजी तीन रोपनी क्षेत्रफलमा अफिमको खेती गरेको भेटिए‌को प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए।

प्रहरी टोलीले उक्त स्थानबाट चौध हजार पाँच सय छैसठ्ठी अफिमका बोट, अफिमबाट संकलन गरिएको चोप १०७.४ ग्राम, चोप निकाल्ने कार्यमा प्रयोग भएका चक्कु र कचौरा समेत बरामद गरेको छ।

पक्राउ परेका थिङलाई जिल्ला अदालत लमजुङबाट ७ दिनको अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८० चैत्र १३ गते, मंगलवार


Scroll to Top

Janata Media