उपनिर्वाचन: बझाङ (क) मा १२ दलको उम्मेदवारी दर्ता

जनता संवाददाता
२०८० चैत्र २४ गते, शनिबार

बझाङ । आगामी बैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनमा बझाङ जिल्ला प्रदेशको (क) मा १२ दलले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नारा जुलुससहित १२ दलले प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा (एमाले) बाट दमन भण्डारी, नेकपा (माओबादी केन्द्र) बाट जनक बुढा र नेकपा (एकीकृत समाजबादी) पार्टीबाट दिलबहादुर सिंहले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै, राप्रपाबाट किशोर खड्का, जनता समाजबादी पार्टीबाट रामबहादुर जाग्री, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक पार्टीबाट कमल धर्ती मगर, राष्ट्रिय मातृभूमी पार्टीबाट बिनोदबहादुर थापा, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीबाट दिपक खड्का, जनमत पार्टीबाट शुसिलादेबी बिष्टले र नेपाली जनता दलबाट अशोक सुनारले उम्मेदवारको मनोनयन दर्ता गराउनुभएको सूचना अधिकारी प्रकाशबहादुर सिंहले जानकारी दिए ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत २४ गते बिहान १० बजेदेखि बेलुका ५ वजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिएको छ । कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंहको गत असार ५ गते घनगढीबाट बझाङ आउँदा सवारी दुर्घटनामा मृत्यु भएपछि यो निर्वाचन क्षेत्र रिक्त रहेको थियो ।

प्रकाशित मिति : २०८० चैत्र २४ गते, शनिबार


Scroll to Top

Janata Media