बालकुमारी–सातदोबाटो सडक दैनिक ६ घण्टा बन्द हुने

जनता संवाददाता
२०८१ बैशाख ६ गते, बिहीबार

काठमाडौँ । बिहीबारबाट सातदोबाटो–बालकुमारी सडक रातको समयमा ६ घण्टा बन्द हुने भएको छ। ग्वार्को फ्लाईओभर निर्माणका लागि काम गर्नुपर्ने भएकाले रातको समयमा उक्त सडकखण्ड बन्द हुने भएको हो।

बिहीबारदेखि वैशाख ११ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा पूर्णरुपमा बन्द हुने सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले जानकारी दिए। अत्यावश्यक भए रातको समयमा वैकल्पिक सडक प्रयोग गर्न शाक्यले अनुरोध गरेका छन्।

फ्लाई ओभरको पुलमा मुख्य बिम बाँध्नुपर्ने हुँदा समय बढी लाग्ने भएका कारण बाटो पूर्णरुपमा बन्द गर्नुपरेको उनले बताए।

उनले भने, ‘फ्लाई ओभरको पुलमा मुख्य बिम बाँध्नुपर्ने र सो बिम बाँध्नका लागि २०० टनको मेसिनले काम गर्नुपर्ने भएकाले रातको समयमा बाटो बन्द गर्न लागेका हौँ।’ बिम बाँध्न बढी समय लाग्ने हुँदा बाटो बन्द हुने दिन बढ्न सक्ने उनको भनाइ छ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते, बिहीबार


Scroll to Top

Janata Media