११ वर्षीय बालिकासँग विवाह गरेको आरोपमा एक व्यक्ति पक्राउ

जनता संवाददाता
२०८१ जेष्ठ १५ गते, मंगलवार

अर्घाखाँची । अर्घाखाँचीमा ११ वर्षीय बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ।

जिल्लाको पाणिनी गाउँपालिका-४, पटौटीका अम्मर बहादुर रानाले गत वैशाख ३१ गते नाबालिकासँग बिहे गरेको आरोपमा प्रहरीले उनलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो।

अम्मर उमेरले ३० वर्षका भए। उनले विवाह गरेको नाबालिकाको उमेर भने मात्र ११ वर्ष ७ महिना रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) प्रतित सिंह राठोरले जानकारी दिए।

उनका अनुसार अम्मरले नाबालिकासँग बिहे गरेको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

उनलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते, मंगलवार


Scroll to Top

Janata Media