दाउन्ने खण्डमा सवारी चालक र यात्रुलाई सधैँ सास्ती

जनता संवाददाता
२०८१ जेष्ठ १८ गते, शुक्रबार

नवलपुर । निर्माणाधीन बुटवल नारायणगढ सडकको कामले पछिल्लो समय केही गति लिएपनी ठाउँ ठाउँमा रहेका अप्ठ्यारा सडकका कारण यात्रुहरूले निकै सास्ती ब्योहोर्नु परेको छ ।

केही दिन अघि परेको पानीका कारण बाटोमा थप खाल्डाखुल्डी बनेका छन् । दाउन्ने क्षेत्रमा काम भैरहेकाले अहिले एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा रहेका छन् ।भत्काएर छाडिएका स्थानमा चाँडै काम नहुँदा सामान्य बर्षाले समेत बाटो अवरुद्ध हुने गरेको छ ।

नारायणगढ बुटवल सडक खण्डको सम्झौता म्याद सकिनै लाग्दा अहिले ५१।४६ प्रतिशत काम सम्पन्न भएको आयोजना कम्पनीको दावी छ ।

काम सुरु भएको दुई बर्ष सम्म कोरोनाका कारण काम गर्न नपाएको बताउँदै आइरहेको चाइना स्टेट कम्पनीले अहिले कच्चा पदार्थको अभाव र विभिन्न निकायबिचको आपसी समन्वयका कारण काममा ढिलाइ भएको बताउँदै आएको छ ।

पश्चिम् खण्डका आयोजना प्रमुख शशाङ्क मिश्रले विभिन्न निकाय बिचको समन्वय अभावका कारण निर्माण कार्य ढिलाइ भएको बताए । ‘बिधुत प्राधिकरण र बनका कारण धेरै कठिनाइ भयो,पटक(पटक भन्दा सडक किनारका बिधुत पोल अझै सरेका छैनन्’ मिश्रले भने । अर्कातिर कच्चापदार्थको अभाव र समयमा उपलब्ध हुन नसक्दा लक्ष्य अनुरुप कामले गति लिन नसकेको प्रमुख मिश्रको भनाई छ । ‘हामीले कच्चापदार्थ उपलब्धताका लागि पटक पटक स्थानीय तहलाई जानकारी गरायौ छलफल गर्‍यौ तर उपलब्ध भएन,भएपनी समयमै हुन सकेन’ मिश्रले भन्नू भयो ।’ बाहिरबाट हेर्दा कामै नभएको भन्ने मात्रै भइरहेको छ तर सहयोगी निकायबाट आश्वासन मात्रै पाउँदा केही कठिनाइ भएको हो’ आयोजना प्रमुखको भनाई छ ।

सडक आयोजना र ठेकेदार कम्पनीसहित भएको छलफलमा हप्ता दिनभित्र मर्मतको काम सक्न निर्देशन दिइएको छ ।ठेक्काको समय अवधि सकिनै लाग्दा आधा मात्रै काम सकिएको आयोजनाले जनाएको छ ।

पछिल्लोपटक थपिएको म्याद आउँदो साउनमा सकिँदै छ । तर पनि बाटो विस्तारको कामले गति लिन सकेको छैन । बाटो विस्तार र मर्मतको काम ढिलो हुँदा सामान्य वर्षामा पनि नारायणगढ–बुटवल सडकखण्डको यात्रा कष्टकर हुने गरेको छ । अब केही दिनमै मनसुन शुरु हुने भएकाले यात्रा थप कठिन हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते, शुक्रबार


Scroll to Top

Janata Media