विश्वकपमा नेपालले बुधबार बलियो प्रतिद्वन्द्वी श्रीलंकासँग दोस्रो खेल खेल्दै

जनता संवाददाता
२०८१ जेष्ठ २९ गते, मंगलवार

काठमाडौँ, । आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ।

सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका हुन। त्यसो त उमेर समूहमा भने यी दुई टोलीबिच पटक–पटक भेट भएको थियो। नेपालले टेस्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै आफ्नो विश्वकप यात्रालाई अगाडि बढाउने लक्ष्यका साथ मैदानमा हुनेछ।

त्यसैगरी लगातार दुई खेलमा पराजित श्रीलङ्काले पनि नेपाललाई हराउँदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ। नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब छ। विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ।

नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो। यता श्रीलङ्काको दक्षिण अफ्रिकासँग छ विकेट र बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले श्रीलङ्काविरुद्धको खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रूपमा रहेको बताए।

उनले विश्वकप क्रिकेट प्रतियोगितामा एसोसिएट राष्ट्रले पनि टेस्ट राष्ट्रलाई पराजित गरेको इतिहास रहेको भन्दै आफ्नो टोलीले उच्च मनोबलका साथ श्रीलङ्का विरुद्धको खेलमा जित निकाल्ने विश्वास व्यक्त गर्नुभयो।

विश्वकप अघि नेपालले फ्लोरिडामै क्यानडाविरुद्ध एक अभ्यास खेल खेलेको थियो। जसमा नेपाल क्यानडासँग पराजित भएको थियो।

फ्लोरिडामै श्रीलङ्काले भने दुई अभ्यास खेल खेलेको थियो। पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलङ्काले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो।

विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो। यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो। घरेलु मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स ९युएई० लाई सेमिफाइनलमा पराजित गर्दै दोस्रो पटक विश्वकपमा स्थान पक्का गरेको थियो।

नवौँ संस्करणको विश्वकपको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश छन्। यो समूह दक्षिण अफ्रिका लगातार तीन खेलमा विजयी हुँदै ६ अङ्कसहित शीर्ष स्थानमा छ । समान दुई अङ्क जोडेका बङ्गलादेश र नेदरल्यान्ड्स दोस्रो र तेस्रो स्थानमा छन् ।

नेपालले समूह चरणको दोस्रो खेल बुधबार श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्न लागेको हो। नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ।

२० टोलीको सहभागिता रहेको विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते, मंगलवार


Scroll to Top

Janata Media