पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जनता संवाददाता
२०८१ भाद्र १७ गते, सोमबार

सुर्खेत । पहिरोले पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्णरुपमा खुलेको छ । अविरल वर्षाका कारण गएको भदौ १२ गते बुधवारदेखि अवरुद्ध कर्णाली राजमार्ग हिजो बेलुकादेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोट जिल्लाको गगनेखोला र दहीखोलामा आएको पहिरो हिजो हटाएपछि सडक खुलेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडक खुलेपछि रोकिएका मालवाहक ट्रक गुड्न थालेका छन् ।

वर्षाका कारण दहीखोला, मालचौर यासमोड, मेअरखोला, गगनेखोलासहितका विभिन्न ठाउँमा पहिरो जाँदा सडक बन्द भएको थियो । पहिरोले सडक अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत नेपालगञ्जका लागि गएका ट्रक बाटोमै थन्किएका थिए । अवरुद्ध सडक खुलेसँगै बीच बाटोमा रोकिएका गाडी गन्तव्यमा लागेका सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

सडक खुलेपछि पहिलो प्राथमिकतामा स्याउ बोकेका मालवाहक ट्रकलाई प्राथमिकताका साथ पठाउने काम भएको छ । अवरुद्ध सडक खुलेपछि ताडी बसपार्कमा रोकेर राखिएका गाडीहरु पनि छोडिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते, सोमबार


Scroll to Top

Janata Media