मेहल पार्कीको प्रोफाइल || Mehal Parki’s Profile

जनता संवाददाता
२०८१ भाद्र ३१ गते, सोमबार

कर्णाली प्रदेश अन्र्तगत एकदमै दुर्गम जिल्ला हुम्लाको साबिक श्रीनगर गाविस वडा नं ५ र हालको अदानचुली गाउँपालिका वडा नं ३ मा जन्मिएका मेहल पार्की अहिले राष्ट्रिय दलित आयोगका सदस्य छन् । कर्णाली प्रदेशबाट संवैधानिक निकायमा दलित समुदायको प्रतिनिधित्व गर्ने उनी एकमात्र व्यक्ति हुन् । उनी दलित आन्दोलनका अग्र भागमा खटिएर काम गरेका एक सशक्त योद्धा समेत हुन् । उनी जन्मिएदेखि अहिलेसम्मको वास्तविक जीवन कहानी तल प्रस्तुत छ ।

परिचयः
हुम्लाको अदानचुली गाउँपालिका वडा नं ३ मा सामान्य दलित परिवारमा जन्मिएका मेहल पार्कीको जन्म वि.स.२०२६।११।२६ मा भएको हो । बिहान खाएपछि बेलुका के खाने ? भन्ने स्थितिमा जन्मिएका पार्कीको परिवारमा श्रीमतिसहित ३ जना छोरी र एउटा छोरा छन् । उनका आमा र बुवाको भने निधन भईसकेको छ । उनी अहिले राष्ट्रिय दलित आयोगका सदस्य समेत हुन् ।

पारिवारिक इतिहासः
आरनमा काम गर्ने पुख्र्यौली पेसा भएको घरमा जन्मिएका पार्कीको पारिवारिक पृष्ठभुमि खासै बलियो छैन् । जग्गा जमिन कम नभएकाले बाली गरेर नै खाने उनको परिवारको बाध्यता थियो । त्यसका बाबजुत पनि उनले गाउँकै स्कुलबाट एस.एल.सी उतिर्ण गर्ने अवसर पाए ।

बाल्यकालः
बाल्यकालदेखि ने जातिय विभेदको समस्या खेपेका पार्कीका त्यसबेलाका अनुभव थुप्रै छन् । उनी सम्झनछन्, ‘हामी उपल्लो छिमेकीको घरभित्र जान पाउँदैनथ्यौँ । खाना, पानी लगायत धेरै कुरा छुन पाउँदैनथ्यौँ । पढ्नेबेला पनि कुनैबेला कोचिङ कक्षा हुन्थ्यो । त्यो बेला पनि मलाई खाना बाहिर दिईन्थ्यो । कोचिङ कक्षा पढाउने सरले जात भनेको केही होईन् भनिसकेपछि त्यो घरका परिवारले राति सुत्न भित्र दिन्थे, खाना बाहिर नै दिन्थे ।’ यि र यस्तै घटनाको प्रेरणाले गर्दा पनि आफु यहाँसम्म पुगेको उनी बताउँछन् ।

शिक्षाः
साविकको श्रीनगर गाविस र अहिलेको सुर्योदय माध्यामिक विद्यालयमा प्राथमिक शिक्षा हासिल गरेका पार्कीले प्लस टु नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा गरे । त्यसपछि लगभग १४ वर्ष शिक्षण पेसामा आवद्ध भए । त्यसपछि दलित विकास बोर्डको एक कार्यकाल केन्द्रिय सदस्य भए । त्यससँगै १ कार्यकालको राष्ट्रिय दलित आयोगको सदस्यपछि फेरी पनि अहिले उनी राष्ट्रिय दलित आयोगको सदस्य नै छन् ।

सोच र योजनाः
आरनको काम गरेर आमा बुवाले कमाएको अन्नबालीले पढेका पार्कीका सोच र योजना धेरै छन् । सानै उमेरदेखि समाजमा भएका अन्याय, अत्याचार, विभेद विरुद्ध खरो रुपमा लाग्ने गरेका पार्की विभिन्न समयमा दलितमाथि हुने गरेका विभेदका विरुद्धका आन्दोलनमा अग्र पङ्तिमा रहेर काम गरिसकेका छन् । यसै क्रममा जेल पनि परिसकेका छन् । दलित समुदायका कुन्ठित भएका हक अधिकार स्थापित गर्ने योजना उनको छ । उनी त्यसअनुरुप काम पनि गरिरहेका छन् ।

सफलताका कथाहरुः
दलित आन्दोलनमा लाग्दै गर्दा सानै उमेरमा उनले विभिन्न खाले सफलता हासिल गरेका छन् । दलितका न्युनतम् आवश्यकता उवं माग पुरा गराउनमा उनको महत्वपूर्ण भूमिका छ । पछिल्लो समयको उनको सफलता भनेको दलित समुदायबाट कर्णाली जस्तो भौगोलिक रुपमा विटक ठाउँबाट जन्मिएर संवैधानिक परिषद्मा पुग्नु उनको जीवनकै एकदमै महत्वपूर्ण उपलब्धी मान्न सकिन्छ ।

जीवनका चुनौतीः
जीवनमा उनने दलित भएकै कारण विभिन्न खाले विभेद सहनु परेको छ । उनले अरुभन्दा पनि त्यसैलाई जीवनको चुनौतीका रुपमा लिन्छन् । उपल्लो जातको घर जाँदा घरभित्र छिर्न नपाउनु, स्कुलमा दलित र गैर दलितका द्यिार्थी छुट्टै राखेर अध्यापन गराउनु नै आफ्नो ठुलो चुनौती भएको बताउँछन् ।

लेख रचना:
उनी आफै पनि लेखक हुन् । उनले विभिन्न विषयमा किताब पनि निकालिसकेका छन् । कर्णालीमा जातिय विभेद मुक्तिका सम्भावनाहरु, दलित समुदाय र प्रगतिशील आरक्षण, दलितहरुको अवस्था र अधिकारको खोजी लगायत थुप्रै किताबहरु प्रकाशन गरिसकेका छन् । त्यसका अलवा उनी देउडा खेलाडी पनि हुन् । उनी देउडा खेलमा पनि उत्तिकै चासो राख्नुका साथै प्रस्तुति पनि दिने गर्छन् । थुप्रै देउडा प्रतियोगितामा उनले विजय हासिल गरेका छन् । अहिले पनि देउडा संस्कृत बचाउनका लागि हरेक समयमा सक्रिय देखिन्छन् ।

राजनैतिक इतिहास तथा उपलब्धीः
दलित आन्दोलनका अगुवा गोल्चे सार्की कार्यक्रमका लागि गाउँमा आएका बेला सार्कीले दलितबाट तर्फबाट को छ बोल्ने ? भनेर स्टेजबाट सोधेपछि पार्कीले हात उठाएर म छु भनेका थिए । त्यसपछि गोल्छे सार्की उनीबाट प्रभावित भएका थिए । त्यो समयदेखि नै उनको राजनितिमा चासो बढ्दै गयो । विभिन्न राजनितिक उतारचढाबसँगै अहिले उनी राष्ट्रिय दलित आयोगको सदस्य सम्म भईसकेका को सदस्य सम्म भईसकेका छन् । यो नै उनको लागि राजनितिक सफलता हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीलाई राजनितिका आदर्श मान्ने पार्की दलितका अधिकार स्थापित गराउन चाहन्छन् । त्यही अनुरुप काम पनि गरिरहेका छन् ।

भविष्यका सपना र लक्ष्यः
बाल्यकालदेखि नै जातिय विभेदका कारण थुप्रै अपमान, अन्याय भोगेका कारण उनी जातिय विभेद अन्त्य गर्ने सपना छ । दलित समुदायका व्यक्तिको सिप, श्रम चल्ने तर पानी नचल्ने अवस्था उनका लागि कदापी स्वीकार्य छैन । जातिय विभेदका विरुद्ध आन्दोलन गर्ने क्रममै जेलदेखि विभिन्न यातना भोगिसकेका छन् । त्यति भईरहँदा पनि उनी थाकेका छैनन् । निरन्तर लागिरहेका छन् । अहिले उनी आफैँ पनि दलितका आवाज बुलन्द गर्ने र दलितका हक अधिकार सरकार समक्ष राख्ने प्रमुख भूमिकामा छन् । उनको दृढ अठोट र चाहना पनि जातिय विभेद अन्त्य गर्ने नै छ । जातिय विभेद अन्त्यका लागि सम्पूर्ण दलित समुदाय एक हुनु पर्ने र सरकारले पनि बेवास्ता नगरी सम्पूर्ण नागरिकमा एकरुपता ल्याउनुपर्ने धारणा उनको छ ।

सुझाव:
मानव भएर जन्मिसकेपछि गल्ति सबैको हुन्छ, त्यो गल्ति मेरो पनि भएको होला । ति गल्तिहरु बिर्सिएर मेरा राम्रा कामहरु मात्र अनुसरण गर्नुहोला । उनले भनेका छन् । जातिय विभेद अन्त्यका लागि सम्पूर्ण दलित समुदाय एक भएर लाग्न र सरकारले पनि चासो राख्न उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते, सोमबार


Scroll to Top

Janata Media