काठमाडौं । अबिरल वर्षासँगै आएको बाढी, पहिरोका कारण काभ्रेपलाञ्चोकको ६ वटा स्थानीय तह पूर्णरुपमा अन्धकार बनेका छन् । बाढी, पहिरोका कारण अधिकांश स्थानमा बिद्युतको ट्रान्सफर्मर, बिद्युत पोल र तारमा क्षति पुगेपछि जिल्लाको धेरै स्थानमा बिद्युत सेवा ठप्प भएको हो ।
बाढी, पहिरोका कारण काभ्रेपलाञ्चोकका १३ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय बिद्युत सेवा पूर्ण रुपमा ठप्प रहेको छ । नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन तथा जिल्लाका विभिन्न स्थानमा रहेका लघु जलविद्युत आयोजनामा समेत बाढीले क्षति गरेपछि लघु जलबिद्युत आयोजनाबाट उत्पादन हुने बिद्युत समेत रोकिएको छ । जिल्लाका १३ वटा स्थानीय तहमध्ये महाभारत गाउँपालिका, रोसी गाउँपालिका, खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका, तेमाल गाउँपालिका, चौरीदेउराली गाउँपालिकाका हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।
बाढी, पहिरोका कारण गाउँमा बिद्युत सेवाबाट बञ्चित भएका बाढी, पहिरोबाट पीडित नागरिक आफ्ना आफन्तसँगको सम्पर्कमा रहन सोलारबाट मोबाइल चार्ज गर्नका लागि वडा कार्यालय र सामुदायिक विद्यालयमा भीड लाग्ने गरेको छ । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले वर्षासँगै आएको बाढी, पहिरोका कारण बिद्युतको पोल, ट्रान्सफर्मरमा क्षति पुगेका कारण पुरै गाउँपालिका अन्धकारमा रहेको बताए ।
जिल्लाको खानीखोला गाउँपालिकाका स्थानीयबासी राजन अधिकारीले बाढी, पहिरोका कारण बिद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइनका साथै पालिकाभित्र रहेका दुई वटा जलबिद्युत आयोजनामा क्षति पुगेका कारण गाउँपालिका पुरै अन्धकार भएको बताए।
“बिद्युत सेवा नभएका कारण नागरिकहरु अन्धकारमा बस्न बाध्य भएका छन्, वडा कार्यालय, बिद्यालयमा रहेको सोलारका साथै जेनेरेटरबाट मोबाइल चार्ज गर्ने गरिएको छ” उनले भने । नेपाल बिद्युत प्राधिकरण काभ्रे वितरण केन्द्र बनेपाका प्रमुख ई. अमृत अधिकारीले बाढी, पहिरोका कारण ठप्प भएको बिद्युत सेवा सुचारु गर्न नौ वटा समूहमा करिब ८० जना कामदार परिचालन गरिएको बताए ।
उनले बाढी, पहिरोका कारण रोसी गाउँपालिका, बेथानचोक गाउँपालिकामा धेरै क्षति भएको बताउँदै उक्त गाउँपालिकामा नयाँ प्रणाली नै निर्माण गर्नुपर्ने बताए । “विपी राजमार्ग हुँदै रोसी गाउँपालिकामा बिद्युत लगिएको हुनाले पहिरोका कारण राजमार्गमा क्षति भएका कारण राजमार्ग मर्मत नभएसम्म रोसीमा बिद्युत लैजान गाह्रो छ भने बेथानचोकमा रहेको संरचनाहरु सबै नष्ट भएकाले त्यहाँ पुरै नयाँ संरचना बनाउनु पर्नेछ” ई।अधिकारीले थपे ।
उनले महाभारतमा उतैबाट काम सुरु गरिएको र खानीखोलामा बागमती नदीले हाइटेन्सन लाइनको पोल बगाएकाले सडक नबनेसम्म पोल लैजान सक्ने अवस्था नरहेको बताए । उनले बाढीपछि बिग्रिएको बिद्युत सेवा सुचारु गर्न करिब २५ सय पोल, २५ वटा ट्रान्सफर्मर र करिब ८० किलोमिटर तार परिवर्तन गर्नुपर्ने बताए ।
उनले दशैँअघि बिद्युत पुगाउने लक्ष्य लिएको बताउँदै छरिएको बस्ती र संरचना भएकाले काम गर्न कठिनाइ भएको बताए । नेपाल बिद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्रमुख ई। सुनिल सापकोटाले दसैँअघि केन्द्र अन्तर्गतका घरमा बिद्युत सुचारु गर्ने गरी काम गरिरहेको बताए ।
उनले तेमाल, चौरीदेउरालीमा सडक क्षति भएकाले सडक सुचारु नभएसम्म काम गर्न सक्ने अवस्था नरहेको बताए । बाढीका कारण बढी क्षति भएको पनौती नगरपालिका –१२, वडा नम्बर –११ लगायतका केही स्थान, धुलिखेल नगरपालिकाको बडालगाउँ, एक्लेखेत, बनेपाका केही स्थान, भुम्लु गाउँपालिकाका धेरै स्थान, नमोबुद्धको नमोबुद्ध, श्यामपाटी लगायतका स्थानमा अझ पनि बिद्युत सुचारु भएको छैन ।