गोरखामा डेंगुबाट एक महिलाको मृत्यु

जनता संवाददाता
२०८१ आश्विन १९ गते, शनिबार

काठमाडौं । गोरखामा डेंगुबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – ७ कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङ भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिए ।

गत भदौ १० गते एपोलो अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि एपोलो अस्पतालमा उपचार भइरहेको बेला स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि भरपुरको मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा शुक्रवार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखामा अहिलेसम्म २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले बताए । उनका अनुसार साउन १ गते देखि भदौ महिनासम्म ४२२ जनामा डेंगु रोग सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख शर्माको भनाई छ ।

डेंगु रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्राय बिहान र बेलुकाको समयमा टोक्ने गर्दछ । बर्सातको समयमा जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।

प्रकाशित मिति : २०८१ आश्विन १९ गते, शनिबार


Scroll to Top

Janata Media