ताप्लेजुङको जिल्ला सभा र वार्षिक समीक्षा सुरु

जनता संवाददाता
२०८१ कार्तिक ७ गते, बुधबार

काठमाडौं । जिल्ला समन्वय समिति ताप्लेजुङको जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ। जिल्ला समिति समितिको सभा हलमा सातौँ जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रम बुधबार सुरु भएको हो।

जिल्ला तथा समीक्षा कार्यक्रमको प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्नुभएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य भट्टराईले जिल्लाको विकास, समृद्धि र सुशासनमा जोड दिए । उनले सुशासन, विकास र समृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्न सबै तहका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र दलका नेतृत्वसमेतको पहल आवश्यक हुने बताए ।

उनले जिल्लाको समृद्धिका लागि जिल्लास्तरबाटै भूमिका निर्वाह गर्नुपर्ने र जिल्लाबाट साझा प्रयासले नै सिङ्गो समृद्ध हुने धारणा राखे । कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले पनि जिल्लाको विकासमा सबै तहको जनप्रतिनिधिबिच साझा पहल र समन्वय आवश्यक हुने बताए । मन्त्री हाङ्गामले आफ्नो तर्फबाट समग्र जिल्लाको विकासका लागि सक्दो पहल गर्ने जिल्ला सभासमक्ष प्रतिवद्धतासमेत जनाए ।

यस्तै कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बोले पनि जिल्लाको विकासमा सबै तहका जनप्रतिनिधिहरू सहकार्य र समन्वय अनिवार्य हुने बताए। कार्यक्रममा आफ्नो धारण राख्दै मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबिर हाङ्गाम (डम्बर) ले विकास योजनाका बारेमा छलफल गर्ने र विगतका कामको समीक्षा गरी कमजोरी सच्याउँदै अघि बढ्ने अवसरका रूपमा जिल्ला तथा वार्षिक समीक्षा कार्यक्रम भएको बताए ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री निर्मला लिम्बू, जिल्लाका स्थानीय तहका पदाधिकारी, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो। यता कार्यक्रममार्फत जिल्लामा हुने विकास तथा योजनाका विषय र गत आवमा भएका कामको बृहत् समीक्षा हुने जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले बताए ।

कार्यक्रमकाबिच संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लामा उत्कृष्ट अङ्क प्राप्त गर्ने मैवाखोला गाउँपालिका र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उत्कृष्ट हुने सिरिङ्घा गाउँपालिकालाई पुरस्कृत गरिएको छ। त्यस्तै आफ्नो जिम्मेवारी अनुसार कर्तव्यनिष्ठ भई भूमिका निर्वाह गर्ने विभिन्न कर्मचारीलाई पनि सम्मान गरिएको निमित्त जिल्ला समन्वय अधिकारी युवराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार कार्यक्रम बिहीबार सम्पन्न हुने छ।

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते, बुधबार


Scroll to Top

Janata Media