काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षसम्मका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क गर्न थालेको छ । अस्पतालका निर्देशक डा। उज्ज्वल चालिसेले सरकारको निर्णय अनुसार आइतबारदेखि १४ वर्षसम्मका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार सुरु गरिएको जानकारी दिए ।
उनले एकदेखि १४ वर्षसम्मका बालबालिकाको कुनै पनि शुल्क नलाग्ने जानकारी दिँदै बालबालिकाको क्यान्सर उपचार पूर्ण रूपमा निःशुल्क गरिएको बताए ।
“भक्तपुर क्यान्सर अस्पतालमा वार्षिक सरदर १५० जना बालबालिका यस्तो रोगका बिरामी आउँछन्,” डा. चालिसेले भने, “ती सबै बालबालिकाको क्यान्सर उपचार अब निःशुल्क हुन्छ ।” निर्देशक डा. चालिसेले क्यान्सर उपचार निःशुल्क भएपछि १५० बाट बिरामीको सङ्ख्या बढ्न सक्ने जानकारी दिए ।
उनले बालबालिकालाई सबैभन्दा बढी रक्त क्यान्सर हुने गरेको जानकारी दिए । रक्त क्यान्सरबाहेक मस्तिष्क क्यान्सर, कलेजोको क्यान्सर, मिर्गौलाको क्यान्सर लागेका बिरामी बालबालिका उपचारका लागि आउने गरेका छन् ।
नेपालमा सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सर उपचार हुने गरेको छ ।
डा. चालिसेले बालबालिकाका लागि क्यान्सरमा आवश्यक ३५ प्रकारका औषधी निःशुल्क प्रदान गरिने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले क्यान्सरको उपचारमा लाग्ने औषधीका लागि विश्व स्वास्थ्य सङ्गठनसँग सहमति गरिएको जानकारी दिए ।







